दुई वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण गरिनेछ : मन्त्री भुसाल
इन्भेष्टोपेपर । कार्तिक १६, २०७८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको बताउनु भएकाे छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा मंगलवार यहाँ आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने बताउनु भयाे ।
उहाँले स्वदेशी विद्युत् खपत बढाउन, आयातीत इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयाे ।
सिंचाइको अभावमा जमीन बाँझो राख्न नपरोस् भनेर सिंचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आगामी दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले समतामूलक राष्ट्र निर्माणका लागि गरिब जनतासम्म ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले सरकारले २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत् सेवा प्रदान गर्ने निर्णय गरेको पनि बताउनु भयाे । उहाँले यस सुविधाबाट २० युनिटभन्दा कम खपत गर्ने २६ लाख घरधुरीका झण्डै १ करोड ३० लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने पनि बताउनु भयाे ।
मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वैकल्पिक ऊर्जाको माध्यमबाट देशका दुर्गम भेगमा बसोबास गर्ने जनतालाई ऊर्जा सेवा प्रदान गर्न सकिएको र अन्तरराष्ट्रियस्तरमा पनि कार्बन व्यापार गरी विदेशी मुद्रा आम्दानी गर्ने बाटो खुला भएकाले यस प्रविधिलाई राज्यले उच्च प्राथमिकतामा राखेको बताउनु भयाे।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले नेपालले नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धनमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सृजित विश्वव्यापी समस्या समाधानका लागि स्वच्छ ऊर्जा प्रविधिमा लगानी बढाउनु पर्ने बताउनु भयाे ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले केन्द्रमार्फत २५ वर्षको अवधिमा नवीकरणीय ऊर्जा प्रविधिहरुमार्फत करीब ३५ लाख घरधुरीका बासिन्दा लाभान्वित भएको जानकारी दिनुभयाे ।
उहाँका अनुसार लघु जलविद्युतबाट ३६ मेगावाट विद्युत् उत्पादन भई २ लाख ३७ हजार घरधुरी तथा सौर्य प्रणालीबाट ९ लाख ६१ हजार घरमा विद्युतीकरण भएको, १६ लाख सुधारिएको चुलो जडान हुनाको साथै ११ हजार पानीघट्ट, २ हजार ८०० ओटा संस्थागत सौर्य प्रणाली र ३४४ ठूलासहित ४ लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएका छन् । यसबाहेक केन्द्रले एक मेगावाटभन्दा बढीका सौर्य र वायु ऊर्जा मिश्रित मिनीग्रिड प्रणाली पनि जडान गरेको छ ।
नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले नेपालमा वैकल्पिक ऊर्जाको विकास र विस्तारमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताउँदै सरकार र दातृ निकायले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि नबढेसम्म आगामी दिनमा पनि लक्षित उपलब्धि हासिल हुन नसक्ने बताए । (रासस)
