भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

न्भेष्टाेपेपर । असाेज २१, २०८१

गलकोट (बागलुङ) । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतवार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ ओटा च्याङ्ग्रा ल्याए । 

तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए । मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो । १०४ ओटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै विक्री भइसकेको छ्याङ्तो गुरुङले बताए । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ ।

गत वर्ष रोज्जा च्याङ्ग्रालाई रु ५५ हजारमा विक्री गरेको बताउँदै उनले यो वर्ष रु ४५ हजारमा विक्री गरिरहेको बताए । ‘छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा विक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ,’ गुरुङले भने, ‘परम्परागतरूपमा पाल्दै आएको च्याङ्ग्रा विक्रीका लागि आफै हिँडेको छु, आफै च्याङ्ग्रा उत्पादन र आफै विक्री गर्दा नाफा धेरै हुन्छ ।’

कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा विक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ । च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिए । 

बागलुङमा महेन्द्र केसीले भित्र्याएको ७४ च्याङ्ग्रामा १६ ओटा विक्री भइसकेको बताए । गत वर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरीद गरेको केसीले जानकारी दिए । 

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महँगो भएपछि यस वर्ष केही सस्तो भएको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दशैंमा भेडाच्याङ्ग्रा खोज्ने केसीले जनाए ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *