किसानले बेच्ने समयमा आधाले घट्यो गोलभेँडाको भाउ

इन्भेष्टोपेपर । माघ ४, २०७८

सर्लाही । किसानले लगाएको गोलभेँडा एकै समयमा बेच्न तयार भएपछि बजार भाउमा गिरावट आएको छ । सर्लाहीमा अहिले गोलभेँडा उत्पादनको मुख्य याम हो । अधिकांश किसानको खेतबारी गोलभेँडा पाकेर राताम्मे छ ।

यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा बिक्री गर्न लालबन्दी ल्याइने भएकाले यहाँ अहिले गोलभेँडा प्रतिक्रेट (२५ केजी) ४०० रुपियाँमा बिक्री भइरहेको छ । क्रेटको ४०० रुपियाँले बेच्दा किसानले एक किलो गोलभेँडाको १६ रुपियाँ पाउँछन् । दुई साताअघिसम्म गोलभेँडा प्रतिक्रेट ८०० देखि हजार रुपियाँसम्ममा बिक्री हुने गरेको थियो ।

लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी किसान जुना घिमिरेले मुख्ययाममा गोलभेँडाको मूल्य बर्सेनि घट्ने गरेको गुनासो गर्नुभयो । पाकेर राताम्मे भएका गोलभेँडा तत्कालै बिक्री नगरे बारीमै कुहिने भएकाले कम मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

व्यावसायिक रूपमा गोलभेँडा खेती हुने लालबन्दी र हरिवन नगरपालिकाका उत्तरी भेगका किसानलाई अहिले गोलभेँडा टिपेर बजारम्म ल्याई बिक्री गर्ने चटारो छ । यो याममा किसानले गोलभेँडा बेचेरै राम्रो कमाइ गर्छन् ।

लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बजारमा धेरै गोलभेँडा भित्रिएका कारण केही दिनदेखि गोलभेँडाको मूल्य निरन्तर ओरालो लागिरहेको बताउनुभयो । आफूहरूले किसानसँग किनेको गोलभेँडा काठमाडौँ, नारायणघाट, वीरगञ्ज, सिन्धुलीलगायतका स्थानमा पठाइरहेको व्यापारी उस्मानले बताउनुभएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *