अडियो प्रकरण : यस्तो छ डा. आरजु राणाको भनाइ

न्भेष्टाेपेपर । असार २६, २०८०

काठमाण्डौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताउनुभएको छ । 

उक्त अडियोको अनुसन्धान गर्न उहाँले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उहाँको भनाइ छ ।उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  

सो अडियोको छानविन गर्न डा राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिनुभएको थियो । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाउँ भन्दै उहाँले गत वैशाख २७ मा उजुरी दिनुभएको थियो । 

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको छ ।त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारेमा भने टिकटक सिङ्गापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभएको छ । 

 उता थुनमा रहेका अभियुक्त शर्माले गत वैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिइएको सो अडियो सो बयानपछि मात्रै सार्वजनिक भएको थियो । त्यसपछि डा राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताउनुभयो । 

उक्त निवेदनबारे गरेको अनुसन्धानमा सिआइबीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको तर डा राणालाई आफूले नचिनेको र यो काण्डमा उहाँको सम्बन्ध रहेको बारेमा आफूलाई थाहा नभएको बताएका थिए ।  

अभियुक्त सन्देश शर्माले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडकोसमेत नाम लिई मैले रकम बुझाएको हो भन्नु भनेअनुसार नै उहाँहरुको नाम लिएको र आफूहरुले यस प्रकरणमा उहाँहरुलाई नचिन्ने बयान दिएका थिए ।  

प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको भन्दै सांसद डा राणाले सो अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र हो भन्नुहुन्छ । 

उहाँले रासससँग भन्नुभयो, “पहिले नै सो व्यक्तिले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरुपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।”  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *