तिहार – २०७६ का शुभदिनहरू तथा भाइटीकाकाे शुभ साइत – पञ्चाङ्ग निर्णायक समिति
Investopaper, कार्तिक ०९, २०७६
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्नेगरी विभिन्न माध्यमबाट भइरहेको प्रचार–प्रसारका पछि नलाग्न आह्वान गरेको छ ।
समितिले विज्ञप्ति नै प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको छ । कात्तिक ८ गतेदेखि यमदीपदान सुरु हुन्छ । कात्तिक ९ गते शनिबार काग तिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, कात्तिक १२ गते मंगलबार गोवर्द्धनपूजा, यमद्वितीया, भाइटीका, किजापूजा र नेपाल संवत् मनाउनुपर्ने समितिको निर्णय छ । यसैअनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानहरूसँगकाे राय–सुझावपछि निर्णय गरेको हो। केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचार–प्रसार शास्त्रसम्मत् नहुने सदस्यसचिव ढुंगेलले बताउनु भयाे ।
सर्वसाधारणकाे जानकारिकाे लागि गृह मन्त्रालयले सूचना नै जारि गरेर भाइटीकाकाे शुभसाइत कार्तिक १२ गते अपरान्ह ११ बजेर ५५ मिनेटकाे समय रहेकाे जानकारि गराएकाे छ ।

