बलेवा विमानस्थल : धावनमार्गकाे कालाेपत्र सम्पन्न, चैत मसान्तभित्र हस्तान्तरणको तयारी

इन्भेष्टोपेपर । फागुन २६, २०७८

बागलुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । 

तीन वर्ष अघिदेखि निर्माण थाले पनि कोरोना संक्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । 

बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए । 

यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । ‘सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्’, थापाले भन्नुभयाे, ‘निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौँ ।’ कालोपत्र गुणस्तरीय रुपमा गरिएको उहाँले जानकारी दिनुभयाे । प्राधिकरणको रू. आठ करोड २४ लाख ३४ हजारमा कालोपत्र गरिएको हो । 

बलेवा विमानस्थल ७०० मिटर लामो कालोपत्र गरिएको छ । प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले विमानस्थलको नियमित अनुगमन गरेको बताउनुभयाे । ‘कोरोनाले समस्या भएर ढिला भए पनि अहिलेको काम सन्तोषजनक छ,’ उहाँले भन्नुभयाे, ‘चैत मसान्तमा हस्तान्तरण भएपछि हवाई उडानबारे काम शुरु हुनेछ ।’ यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ । 

बलेवा क्षेत्रका नागरिकले श्रमदानबाट थालेर विसं २०१६ देखि २०१८ सम्म यो मैदान बनाएका थिए । ८०० मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज उड्थे । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित उडान भइरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयाे ।

विमानस्थलमा ७०० मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा एक हजार ५०० मिटर लामो घेराबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपत्कालीन गेट तयार भएको छ । मैदानको सबै भाग एक किमी लामो छ तर हाल ७०० मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो । मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्र भएको हो । 

यो विमानस्थल सञ्चालनका लागि बागलुङ बजारदेखिको आठ किमी सडक कालोपत्र गर्नुपर्ने स्थानीयवासी सुमन भुसालले बताउनुभयाे । ‘सरर ट्याक्सीमा जानसक्ने गरी सडक कलोपत्र नगर्दासम्म यो विमानस्थल सञ्चालनमा ल्याउन पनि कठिन छ, विमानमा झरेपछि या विमान चढ्न जान खाल्डाखुल्डीको सडक सहज छैन,’ उहाँले भननुभयाे ।

हाल कालीगण्डकी करिडोर निर्माणाधीन छ तर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेपछि भने स्तरोन्नतिको काम पनि ठप्प छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *