वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा मेलम्चीको पानी आउने

इन्भेष्टोपेपर । फागुन २७, २०७८

सिन्धुपाल्चोक  ।  आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु-याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ । गत असार १ गतेको मेलम्ची खोलाको बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुललगायतका भौतिक संरचनाहरू भत्किएका थिए ।

प्रवक्ता पन्तले भन्नुभयो, “हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम–अन्तिम भएको छ, पानी पथान्तरणको वैकल्पिक माध्यमबाट चैतमा पानी ल्याउने योजनाका साथ काम भएको छ, चैतमा पानी ल्याउन सक्छौँ भन्ने नै छ ।”सुरुङको गेग्य्रान हटाउने काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बाढीले ल्याएका ठूला ढुङ्गाहरू नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “अझै एक साता ब्लास्टिङ गर्न लाग्छ, गेग्य्रान पन्छाउने काम ६५ प्रतिशत सम्पन्न भएको छ, अब एक सातामा गेग्य्रान हटाउने काम सम्पन्न हुन्छ ।”

बाढीले आयोजना स्थलमा ६० हजार मेट्रिक टन गेग्य्रान जम्मा गरेको थियो । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गेग्य्रान पन्छाउने काम गरेको छ । आयोजना स्थलमा १२ वटा डोजर, २२ टिप्पर र एक्साभेटरले परिचालन भएका छन् । मेलम्चीमा आगामी वर्षात्हरूमा पनि बाढी आउन सक्ने जोखिम कायमै छ । बाढीको रोकथाम तथा क्षति न्यूनीकरणका लागि भौगर्भिक रूपमा अध्ययन भइरहेको पन्तले जानकारी दिनुभयो ।

बाढीले आयोजनाको प्रवेश मार्गको चनौटेदेखि अम्बाथानसम्म आठ किलोमिटर सडक बगाएको थियो । चनौटेसम्मका सडकमा आंशिक क्षति पुगेको थियो । गेग्य्रान र ब्लास्टिङ गरेर निस्केका गेग्य्रान सडक निर्माणमा प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

बाढीले बगाएका आयोजनाका पुलहरू निर्माण भइरहेका छन् ।बाढीले एक अर्ब ८८ करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आयोजनाले निकालेको थियो । हालसम्म उक्त आयोजना निर्माणमा ३५ अर्ब रुपियाँ लगानी भइसकेको छ । २०७७ चैत १५ गते मेलम्चीको पानी उपत्यकामा परीक्षणस्वरूप वितरण गरिएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *