बाइस जिल्लामा पठाइयो मतपत्र
इन्भेष्टाेपेपर । वैशाख १५, २०७९
काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन—२०७९ का लागि
हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भइ वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ । आज सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं. १ को ताप्लेजुङ, पाँचथर
र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केहीदिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ ।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो । १४ गतेसम्म १ करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ ।
