कविताः भागवण्डा
- कुल थापा
देश विकास, गरीवको दिन् फिराउन भनि
राजसत्ता गिराउने, योगदान वलिदानी,
एकै लक्ष्य, समान सपथ, पार्टी अनि झण्डा
जहिले पनि कचकच नै छ के हो भागवण्डा ?
हिजो थियो लुछाचुडी अल्पमतले गर्दा
एउटा सिढीँ चढिहाल्ने अर्को तल झर्दा,
एकआपसमै दोषारोपण ठूलै भयो फण्डा
तैचुप मैचुप भई हाल्थ्यौ पाए भागवण्डा ।
वहुमत् दिए जनताले, केही गर्छन कि भनि
कसरी पो सुध्रिन्थ्यो र लागीराको बानि ?
जनवादी सरकार भन्ने किन नीति ठण्डा ?
समृध्दीका खातिर पनि छाड्देउ भागवण्डा ।
भान्से बनि लप्पन छप्पन नगरेकै जाति
अन्याय भो कोही भन्छन् छौकि खुराफाति ?
देश अनि पार्टी ठूलो व्यक्ति व्यक्ति भन्दा
क्षमतालाई कदर गर छाड्देउ भागवण्डा ।
कतै देख्छु रातो कार्पेट, सय किलाको माला
दशैं टिका, गमले धान, किन यस्तो चाला,
मुखले चिल्लो हुने भए किन लाउनु रन्दा
सुख सुविधा मान सम्मान चाहियो भागवण्डा ।
चाटुकारको घेराभित्र रमाइराछौ किन ?
यस्ता चालले गरीबको फर्किदैन दिन,
छद्मभेषी ढोगी भनि चलाउलान् है डण्डा
दुध पानी छुट्याएरै लगाउ भागवण्डा ।