वार्यन म्युनिख यस सिजनकाे च्याम्पियन्स लिग विजेता
इन्भेष्टोपेपर । भाद्र ०८, २०७७
काठमाडौं । वार्यन म्युनिखले पिएसजीलाइ हराउँदै यस सिजनकाे च्याम्पियन्स लिगकाे विजेता बनेकाे छ । याे सहित वायर्न म्यूनिखले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हाे ।
लिसबनमा राति सम्पन्न अत्यन्तै संघर्षपूर्ण प्रतिस्पर्धामा वार्यनले पेरिस सैन्ट जर्माइनलाई १–० को अन्तरले हराएर च्याम्पियन्स लिगको उपाधि हात पार्न सफल भएको हो । खेलकाे पहिलाे हाफ गाेलरहित बराबरिमा सकिए पनि वार्यनको जितमा किंग्स्ले कोमनले ५९ औं मिनेटमा जोशुआ किमिचको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरिदिए । जुन निर्णायक गाेल बन्न पुग्याे ।
फाइनलमा गाेल गर्न चुकेपछि पेरिस सैन्ट जर्माइन भने पछिल्लो ३५ खेलमा पहिलोपटक गोलविहीन बन्न पुग्यो । वार्यनले च्याम्पियन्स लिग प्रतियोगिता अवधिभरि सबै खेल जित्ने कीर्तिमान समेत बनायो । च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा यो उसको लगातार २१ औं जित हो । क्वार्टरफाइनलमा उसले बार्सिलोनामाथि ८–२ को विशाल अन्तरको जित हात पारेकाे थियाे ।
खेलकाे पहिलो हाफमा पिएसजीका नेयमार, म्बाप्पेले केही उत्कृष्ट अवसरहरु पाएता पनि गाेल गर्ने अवसर चुकाए । उनिहरूले गरेकाे फितलाे प्रहार वार्यनका कीपर मैनुअल नेउरले सावधानीपूर्बक प्रतिरक्षा गर्न सफल भए । नेउर म्यान अफ द म्याचकाे उपाधिबाट विभूषित भए ।