समय अगाबै लालीगुराँस राताम्यै, रमाउन थाले आन्तरिक पर्यटक

इन्भेष्टोपेपर । फागुन २३, २०७८

गलेश्वर ।  सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर बन पाखा नै राताम्ये देखिन थालेका छन् ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरणविद्ले बताएका छन् ।

लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीबिरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका बृद्ध वेदप्रसाद उपाध्यायले बताउनुभयो ।

लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विकले उल्लेख गर्नुभयो, “अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्नपाइएको छ । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।

उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा धेरै परिवर्तन देखिएका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *