भीमदत्त पन्त : जातीय विभेदका विरोधी, किसानका सच्चा नेता

न्भेष्टाेपेपर ।  साउन  १७, २०८२

कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।

साउन १७ गते (आज), देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ । तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो ।

१९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरे । धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा मार्क्सवादको सङ्गमले उनीभित्रको विद्रोही चेतनालाई झन प्रज्वलित बनायो ।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहार भन्छन्, ‘शिक्षाले उहाँ विद्वान् मात्र हैन, सामाजिक न्यायका लागि समर्पित योध्दा बन्नुभयो, गीता र मार्क्सलाई आत्मसात गरेर उहाँले वर्गीय विभाजनमाथि प्रश्न उठाउनुभयो ।’

लोहारका अनुसार विसं २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झन्डा उठाए । २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उनले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, ‘अब कुनै जाति ठूलो सानो छैन ।’

पूर्वसांसद निरा जैरू भाषणमा होइन, भीमदत्तले व्यवहारमै जातीय विभेद तोडेको बताउँछिन् । भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गरेका थिए । उनले बेदखली रोके । तमसुक जलाए । ‘एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले सुरू गर्नुभयो,’ जैरु भन्छिन्, ‘सामन्तीलाई विस्थापित गर्ने यो उहाँको महानता थियो । जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झन लायक छ ।’

हलिया नेता राजुराम भूलले आफूहरु हलिया मात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास भीमदत्तबाट पाएको बताउँछन् । ‘उहाँ केवल नेता मात्र होइन हाम्रो आत्मसम्मानका संवाहक हुनुहुन्थ्यो । आन्दोलन पूरा नहुँदै उनले सहादतप्राप्त गर्दा मुक्तिका लागि वर्षौ पर्खिनुपर्‍यो ।’

भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः २०१० साउन १७ गते, बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो ।

‘भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरू पनि,’ भूमि अधिकारकर्मी रामबहादुर चुनारा भन्छन्, ‘त्यसपछिका आन्दोलनहरूले पनि उहाँको प्रेरणालाई जीवित राख्दै आएका छन् ।’

सहिद भीमदत्तले तत्कालीन समयमा दिएका नाराहरू उत्तिकै सान्दर्भिक रहेको चुनारा बताउँछन् ।

२०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई सहिद घोषणा गरेको थियो । ‘नेता पन्तको सपना तब मात्रै पूरा हुन्छ, जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा समान पहुँच हुन्छ, न्याय, समानता र समावेशीताको मूल्य व्यवहारमा लागू गरिन्छ,’ चुनारा भन्छन् । (राजेन्द्रप्रसाद पनेरु/रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *