तीन करोड लगानीमा ‘बायोफक्स’ प्रविधिबाट माछापालन

रासस, कार्तिक १६, २०७६

पर्वत —  कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले रु तीन करोडको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो ।

झण्डै एक दशकदेखि व्यावसायिक कृषिमा संलग्न लालबहादुर हरिजन र दुर्गा पौडेलले २३ रोपनी जमीनमा ‘बायोफक्स’ प्रविधिबाट माछापालन व्यावसाय शुरु गर्नुभएको हो । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डअन्तर्गतको अर्मादीमा स्थानीयसँग २० वर्षका लागि जग्गा भाडामा लिएर फार्म सञ्चालन शुरु गरिएको हो ।

यो प्रविधिअन्तर्गत माछापालन गर्दा थोरै क्षेत्रफलमा धेरै प्रजातिका माछा पाल्न मिल्ने, छोटो समयमा आम्दानी लिन सकिने, दाना खेर नजानेलगायत फाइदा हुने सञ्चालक हरिजनले बताउनुभाये । “कृषिमा नयाँ प्रविधि खोजेर व्यवहारमा उतार्न खोज्दा यहाँसम्म आइयो”, हरिजनले भन्नुभयो, “भइरहेकोभन्दा फरक गर्न खोज्दा जोखिमसँगै सम्भावना पनि रहेछ ।”

विकसित मुलुकमा बढी प्रयोगमा ल्याइएको यस्तो प्रविधिको माछापालन शुरुमा अलि झन्झटिलो हुने उहाँले बताउनुभयो । गोलाकार फलामे जालीमा प्लाष्टिक पोखरी बनाएर पानी भरेर माछापालन गरिने प्रविधि नै ‘बायोफक्स’ हो ।

“गुगलमा खोज्दै जाँदा यस्तो प्रविधि भेटियो”, पौडेलले भन्नुभयो, “शुरु गरिहालौँ भनेर आँटियो । पछि प्लास्टिकको पोखरी फेल खायो ।” उनीहरूले इँटा र सिमेन्टको गारो लगाएरै गोलाकार पोखरी बनाएका हुन् । हाल करीब दुई दर्जन पोखरीमा एक लाखभन्दा बढी माहुर, तिलापिया र जलकपुर जातका माछा राखिएको छ । त्यसबाहेक उनीहरूले करीब चार हजार ब्रोइलर कुखुरापालन थालेका छन् ।

उत्पादित माछाको बजारीकरणका लागि पर्वत र बागलुङका आठ स्थानमा बिक्री केन्द्र सञ्चालनको तयारी गरेका छन् । “बागलुङका तीन ठाउँमा शुरु भइसक्यो”, पौडेलले भन्नुभयो, “पर्वतमा व्यवस्थापन गर्दै छौँ ।” आफ्नै फार्मका माछा र कुखुरा व्यवस्थित बध गरेर उपभोक्ताका घरघरै शुद्ध माछा मासु पठाउन बिक्री केन्द्र सञ्चालन गर्न लागिएको हो । फार्मकै नामबाट आधुनिक कुखुरा बधस्थल सञ्चालनको तयारीसमेत उनीहरुले गरेका छन् ।

करीब सवा करोड लगानीमा सञ्चालन तयारीमा रहेको ‘अटोमेटिक सटरिङ लाइन’ मार्फत धौलागिरिमा भइरहेको अव्यवस्थित कुखुरा बध गर्ने प्रचलन अन्त्य हुने विश्वास गरिएको उहाँले बताउनुभयो । बधस्थलका लागि प्रदेश सरकारले रु एक करोड अनुदान दिएको छ । “व्यवस्थित बधस्थलको अभावमा उपभोक्ताले अस्वस्थ मासु खानुपरेको छ”, हरिजनले भन्नुभयो, “अब त्यस्तो अवस्थाको अन्त्य हुनेछ ।”

माहुर, तिलापिया र जलकपुर जातका माछा कम्तीमा आठदेखि १० महिनामा बेच्न मिल्छ । माहुर एक किलोसम्म हुन्छ । यसको बजार मूल्य प्रतिकिलो रु ४०० सम्म छ । जलकपुर आधा किलोको हुन्छ । यसको बजार मूल्य प्रतिकिलो रु ५०० छ । तिलापिया बढीमा २०० ग्रामको हुन्छ । तिलापियाले भुरा आफैँ उत्पादन गर्ने भएकाले यसको विस्तारमा सहज हुने उनीहरूको भनाइ छ । तिलापिया पनि प्रतिकिलो रु ४०० मा बिक्री हुन्छ ।

पौडेल र हरिजन फार्ममा आफैँ आलोपालो खट्दै आएका छन् । यसबाहेक तीन जना कामदार छन् । केही महिनाभित्रै मासिक रु तीन लाख आम्दानी लिन सकिने योजनामा रहेको उनीहरुको भनाइ छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *