आमा र शिशु दुवैका लागि स्तनपान

इन्भेष्टोपेपर ।  श्रायण १७, २०७७ 

आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला आमाको पहेँलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् ।” बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्छ । शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु नपर्ने बसौलाको भनाइ छ । उहाँका अनुसार ८७ प्रतिशत पानी दूधमा हुन्छ ।

छ महिना पूरा भएपछि आमाको दूधको साथसाथै थप पोषिलो आहार खुवाउन उहाँले सुझाव दिनुभयो । बसौलाले भन्नुभयो, “कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनु पर्छ ।” पूर्ण स्तनपानका फाइदाका बारेमा उहाँले थप्नुभयो, “बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ ।” स्तनपान नगराइएका बच्चा झगडालु स्वभाव, अरुसँग घुलमिल नगर्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुने अनुसन्धानबाट पत्ता लागेको बसौलाले बताउनुभयो । बोतल र त्यसको मुन्टा सजिलै फोहोर हुने हुनाले प्रयोग नगर्न चिकित्सकको सुझाव छ । नवजात शिशुलाई २४ घण्टामा १० देखि १२ पटकसम्म स्तनपान गराउन उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो “चौबीस घण्टामा छदेखि आठ पटक बच्चाले पिसाब फेर्नु पर्छ ।

कम भएमा दूध नपुगेको हुन्छ । एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउन, आमा र बच्चा जो बिरामी भए पनि निरन्तर स्तनपान गराई रहन उहाँले सुझाउनुभयो । नेपाल बाल चिकित्सक समाजका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका बसौलाले बिगौती दूधले बच्चाको शरीरबाट ‘विलिरुविन’ नामक तत्वलाई निष्काशन गर्ने बताउनुभयो । जसले गर्दा जण्डिस हुन दिँदैन । बिगौती दूधमा प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्व बढी पाइन्छ । जसले गर्दा बच्चाको वृद्धि विकासमा मद्दत गर्दछ । उहाँले भन्नुभयो, “बिगौती दूधले बच्चालाई एलर्जी र अपच हुन दिँदैन ।”

आमाको दूधमा झाडा र स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व हुने चिकित्सक बताउँछन् । यसैगरी आन्द्राको रक्षा र हानिकारक तत्वलाई रगतमा पुग्न नदिन आमाको दूध उपयोगी हुन्छ । दाँत र गिजाको विकास गर्न सहयोग पुग्छ भने बच्चाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न सहयोग पुग्ने बसौलाले बताउनुभयो । आमाको दूधले बच्चालाई मात्र होइन दूध चुसाउने आमालाई पनि फाइदा पुग्दछ । भरतपुर अस्पतालका स्त्री, प्रसूति तथा प्रजनन रोग विशेषज्ञ वरिष्ठ कन्सल्टेन्ट डा रामप्रसाद सापकोटा बच्चाले स्तनपान गर्दा निस्कने हार्मोनले आमाको पाठेघर खुम्च्याउन मद्दत गर्ने बताउनुहुन्छ ।

बच्चा जन्मने बित्तिकै स्तनपान गराउँदा सालनाल सजिलो र छिटो बाहिर निस्कने हुँदा पाठेघरबाट बढी रगत बग्ने खतरा कम हुने उहाँले बताउनुभयो । बच्चा जन्मने बित्तिकै आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्ने चिकित्सक बताउँछन् । तुरुन्तै र पटकपटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुने सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “दूध चुसाउने आमा र बालबालिकाबीचको आत्मीयता बढ्छ र बच्चाले सुरक्षित महसुस गर्दछ ।”

आमालाई मानसिक तनाव कम हुने हुँदा स्वस्थ महसुस गर्ने उहाँले बताउनुभयो । सुत्केरी भएपछि स्तनपान गराउनाले आमाको मोटोपन घट्नुका साथै पाठेघर खुम्चिएर पुरानै अवस्थामा फर्कने उहाँले जानकारी दिनुभयो । सापकोटाका अनुसार बच्चा जन्मिएको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा समेत काम गर्दछ । उहाँले थप्नुभयो, “महिलालाई हुने स्तन, डिम्बासय र पाठेघरसम्बन्धी क्यान्सरको समेत जोखिमसमेत कम गराउँछ ।” आमाको दूध सधँै सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ र खर्चिलो हुँदैन । आमाको दूध जुनसुकै बेला पनि खुवाउन सकिन्छ ।

कृतिम खालका खाना बनाउन लाग्ने समय, इन्धन खर्च र कामको भार कम हुने उहाँले बताउनुभयो । स्तनपानले प्रत्येक वर्ष विश्वमा करिब आठ लाख २३ हजार बच्चा बचाउने गरेको चिकित्सक बताउँछन् । संसारमा हरेक पाँच बच्चामध्ये दुई जना शिशुले मात्र छ महिनासम्म आमाको दूधमात्र खान पाउने तथ्याङ्कले देखाएको छ । हाल नेपालमा एक वर्षमा करिब सात लाख बच्चा जन्मने गरेको पाईएको छ । तीमध्ये ५७ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मने गरेको बसौलाले जानकारी दिनुभयो । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन २०४९ मा आमाको दूधको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्न नहुने उल्लेख छ ।

ऐनले यस्ता वस्तु बिक्री वितरण गर्ने, प्रचारप्रसार गर्ने र सिफारिस गर्ने स्वास्थ्यकर्मीलाई समेत कारवाही गर्न सकिने उल्लेख गरेको छ । जसमा सिफारिस गर्ने स्वास्थ्य कार्यकर्तालाई रु एक हजार जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय र वितरकलाई रु १५ हजार जरिवाना वा चार महिना कैद वा दुवै हुने व्यवस्था गरेको छ । छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि आमाको दूधसँगै जाउलो, लिटो, दालको रसजस्ता वस्तु खुवाउन बसौला सुझाव दिनुहुन्छ । याे समाचार राससका नारायण अधिकारीले लेख्नु भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *