जापानी दिदीबहिनी विश्वकै ज्येष्ठ जुम्ल्याहा, गिनिजले दियाे प्रमाणपत्र
इन्भेष्टोपेपर । आश्विन ०५, २०७८
दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ। उनीहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा त्यस्तो प्रमाणित गरिएको हो।
उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन्।
यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए। किनको मृत्यु सन् २००० को ज्यानुअरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो। ती जुम्लयाहाको नामको अर्थ जापानी भाषामा सुन र चाँदी भन्ने हुन्छ।
सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छन्। उमेनोका चार र कोउमीका तीन सन्तान छन्।
जापानको औसत आयु संसारकै उच्च मानिन्छ र त्यहाँ ज्येष्ठ नागरिकहरूप्रति अन्यत्रभन्दा धेरै सम्मान गर्ने गरेको पाइन्छ। गिनिज बुकका अनुसार अहिले जीवित रहेका ज्येष्ठ नागरिक समेत जापानकै ११८ वर्षीय महिला कानी तानका छिन्।
— बीबीसीबाट
