देशका केही ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
इन्भेष्टाेपेपर । वैशाख ७, २०७९
काठमाण्डाैँ । आज पनि पहाडी केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।
मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ठाउँमा मेघगर्जन र चट्याङगसहित वर्षा भएको महाशाखाले जनाएको छ । आज पनि पहाडी क्षेत्रमा मौसम आँशिक बदली हुने र केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । अबको तीन दिनसम्म मौसम यस्तै रहने अनुमान छ ।
आज प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्रि-मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
