पाेखरा प्रिमियर लिगकाे उपाधि चितवन राइनोजले उचाल्याे

Investopaper, पौष १२, २०७६

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

पाेखरा प्रिमियर लिगकाे विजेता चितवन राइनाेजले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ पाएकाे छ ।

पोखरा क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो। बिराटनगरका लागि ओपनर मोहम्मद जैद आलमले सर्वाधिक ५७ तथा प्रदिप सिं ऐरीले ३६ रन बनाए ।

ओपनर सुनील धमलाले ४ रन मै पेवेलियन फर्किए पछि विराटनगर सुरुमै समस्यामा परेको थियो। मोहम्मद जैद आलम र प्रदिप सिं ऐरी बाहेक अन्य ब्याट्समैन खासै जम्न सकेनन ।

चितवन राइनाेजका बलरहरू करण केसीले तीन, सन्नि पटेलले दुई र राेहन मुस्तफाले १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियाे । चितवनका ब्याट्समैनहरूले लक्ष अनुरूप विशाल स्काेर खडा गर्न सफल भएका थिए।

चितवनकाे पनि शुरूवात त्यति राम्राे हुन सकेकाे थिएन । ४५ रन बनाउँदासम्म दुइ विकेट पतन भैसकेकाे थियाे । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भएका थिए। ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरेका थिए । पारसपछि क्रिजमा आएका बाबर हायात पनि ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो ।

त्यसपछि अनिल शाहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितवनको स्कोर १४० मा पुर्‍याएका थिए । दुवै जनाले व्यक्तिगत अर्धशतक पूरा गरेका थिए । यसपछि १९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगेका थिए ।

त्यसैगरी अविजित रहदै करणले ८ बलमा २ छक्का र २ चौका सहित २६ रनकाे याेगदान दिए भने सन्नीले पनि समान ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाएका थिए।

विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट हात पारेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *