नेपाल जेसिजको अध्यक्षमा अशोक शङ्कर विजयी

Investopaper, पौष १२, २०७६

चितवन – नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो ।

पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत प्राप्त गर्नुभयो । कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो ।     

यस्तै कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित हुनुभएको छ । गुरुङले एक हजार ११ मत, भण्डारीले ६९३ मत, सापकोटाले ९४५ र खरेलले एक हजार ११ मत प्राप्त गर्नुभयो । चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धा भएको थियो ।     

उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी हुनुभएको छ ।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो । महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत हुनुभएको नेपाल जेसिजका प्रेस संयोजक दिबु बानियाँले जानकारी दिनुभयो ।     

नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन् । महाधिवेशनका लागि तीन हजार जेसी रत्ननगर आएका थिए । पुस ९ गतेदेखि सुरु महाधिवेशनको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । 

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *