कफी: गर्भवती महिलाबाहेक अरुलाई ‘बेफाइदा भन्दा फाइदा धेरै’
इन्भेष्टाेपेपर । फागुन १५, २०८२
एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ। ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।
तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्। कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।
गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ। ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्रामभन्दा बढी क्याफीन पिउन नहुने बताएको छ। बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुने उसको भनाइ छ।
त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्न उक्त अध्ययनले सुझाव दिएको छ।
अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन्। अनुसन्धानकर्ताहरुले कफी पिउनेहरुलाई स्वस्थ्य रुपमा कफी खान सुझाव दिंखै बढी चिनी नहाल्न, दूध वा क्रिम अनि चिल्लो पदार्थको मिश्रण सकेसम्म कम गर्न सुझाव दिएका छन्। – वीवीसीबाट
