जापानी ‘ओके बाजे’लाई पाल्पामा सांस्कृतिक झाँकीसहित अभिनन्दन

न्भेष्टाेपेपर । कात्तिक ४, २०८१

पाल्पा । तीन दशकदेखि पाल्पाको पूर्वीभेगमा रहेर सामाजिक सेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमीलाई रामपुर किसानबारीमा शनिबार सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिएको छ ।

पाल्पा, नवलपुर र नवलपरासीका विभिन्न शैक्षिक संस्था, स्थानीय तह, सामाजिक विकास संघसंस्था, क्लबलगायतले उनलाई र्‍यालीसहित रामपुर नगरक्षेत्रमा रथारोहण सहित परिक्रमा गराइएको थियो ।

शनिबार नै काकिमीको बालबालिकासहितको पूर्ण कदको प्रतिमासमेत स्थापना गरिएको छ । मितेरी पार्कमा प्रतिमा राखिएको छ । पदयात्रीका रूपमा ३० वर्षअघि नेपाल आएका काकिमी सामाजिक सेवामार्फत पाल्पालीको उन्नतिका लागि निरन्तर सक्रिय छन् ।

काकिमीले गरिबी, अशिक्षा र पछौटेपन देखेर पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमाराबाट सामाजिक काम थालेका थिए । काकिमी त्यसताका नेपाली भाषा नबुझे पनि कुरा गर्दा ‘ओके ओके’ भन्ने गरेकाले स्थानीयले उनको उपनाम नै ‘ओके बाजे’ दिएका थिए । यहाँका २ सय ५० भन्दा बढी संघसंस्थाले उनको सम्मान गरेका हुन् ।

पाल्पाली ढाकाको दौरासुरुवालमा सजिएर कार्यक्रममा उपस्थित भएका काकिमीले यस क्षेत्रका विद्यालय भवन निर्माण, क्लब, आमा समूह, बालशिक्षाको भवन निर्माण, पछाडि परेका साथै विपन्न समुदायका बालबालिकाको शैक्षिक विकास र स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको अभिनन्दन मूल आयोजक समितिका सुन्दर रानाले बताए । काकिमीले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै एम्बुलेन्स सञ्चालनमा समेत सहयोग गर्दै आएका छन् ।

काकिमीले २०५०/५१ देखि जापानस्थित विभिन्न संघसंस्था, सहयोगदाता, समकक्षी, आफ्नै आम्दानीलगायत विभिन्न माध्यमबाट बर्सेनि करोड बढी आर्थिक सहयोग रकम संकलन गरी पाल्पाका साथै नवलपुर र नवलपरासी जिल्लामा सहयोग गर्दै आएका छन् । शैक्षिक संघसंस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, खानेपानी, सडक, वन वातावरण, सिँचाइ, बाल क्लब, युवा क्लब तथा सामुदायिक विकाससँग सम्बन्धित संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।

८५ वर्षीय काकिमी सन् १९९३ मा पूर्वी पाल्पाको साविक जल्पा गाविसको ढोलीमारा गाउँमा पाल टाँगेर बस्न थालेका थिए । काकिमीको यसअघि पाल्पाली समुदायले ८४ पूजासमेत गरिदिएका छन् । समाज सेवामा २५ वर्ष पुगेको अवसरमा यसअघि पाल्पाको तानसेनमा पनि उनको अभिनन्दन गरिएको थियो ।

यातायातको सुविधा नपुगेको, ग्रामीण विकट बस्ती, हिँडेर जानुपर्ने स्थानमा पुगेर जनताको सेवा गर्ने गरेको आफूले पाएको अभिनन्दन समितिका संयोजक भीमविश्व भट्टराईले बताए । जापानका विभिन्न संस्थासँग सहयोग मागेर उनले यहाँ खर्चिंदै आएका छन् । जापानमा आफूले पाएको सम्मानको रकमबाट यहाँ अक्षयकोष खोलेका छन् । जसबाट दुर्गम, मगरबस्ती, खसभाषा नबुझ्ने गाउँका विद्यार्थी पढ्न सक्ने भएका छन् ।

उनले विद्यालय भवन निर्माण गर्नुका साथै विद्यालय जान नसक्नेलाई घरमै पढ्न बालकक्षा पनि सञ्चालन गरेका छन् । सिलुवा, ज्यामिरे, मित्याल, बांकामलांग, ख्याहालगायतका स्थानमा झोलुंगे पुल निर्माणमा समेत सहयोग गरेका छन् । काकिमीले तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा खाता खोलेर गरिब र औषधि उपचार गर्न नसक्नेका लागि निःशुल्क सेवा पुर्‍याएका छन् । यातायात, कृषि, सिँचाइ, पुललगायतका विकास निर्माणका काम गरेका छन् । उनले ७ सय बढी शौचालय बनाउन पनि सहयोग गरेका छन् । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *