सहकारीको ४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ

इन्भेष्टोपेपर । असार २८, २०७७

बाँके ।  ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

सहकारीको रकम हिनामिना प्रकरणपछि फरार  चौधरीलाई शनिबार  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिनुभयाे। 

उहाँका अनुसार प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगञ्जमै रहेको विशेष सुराकीका आधारमा प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन्।​

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ। बज्राचार्य रु २० लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो। 

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयाे। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *