बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

इन्भेष्टोपेपर । जेष्ठ १२, २०७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनु भएकाे छ ।

प्रधानमन्त्री ओलीले २५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भन्नुभएकाे छ, ‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनु भएकाे छ ।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो । विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरु, धार्मिक संकीर्णता जस्ता कुराहरुले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए,’ सन्देशमा भनिएको छ, ‘तर बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु पर्‍यो ? बुद्धका विभिन्न अस्तु अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट खोजी हुन थाल्यो ।’

नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथा यी तथ्यसम्म पुर्‍याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्‍याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने टाँगेलगायत महानुभावप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयाे ।

उहाँले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको स्पष्ट पार्नुभयाे । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले गम्भीर रुपमा व्यवधान पुर्‍याए पनि निराश हुन नहुने बताउनु भयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *