स्वदेशमै उत्पादित माछाकाे तयारी दानाले बजार पाएन

इन्भेष्टोपेपर । पुष ५, २०७८

चितवन । चितवनमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना सिंकिङ दाना प्रतिघण्टा ३ टन र तैरने ९फल्टिङ० दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लागत मूल्य बढी पर्दा बजार पाउन सकेन ।” नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उहाँको भनाइ छ । 

माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उहाँले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन ।” गत वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले हालसम्म करिब ४ सय टन दाना बिक्री गरेको उहाँले बताउनुभयो । बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत रु एक करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी रु १८ करोडको लगानीमा निर्माण गरिएको हो । 

रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताउनुभयो । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन । पाण्डेले भन्नुभयो, “परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले वजार पाउन नसकेको हो ।”

नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छुटको व्यवस्था गरिदिनु पर्छ ।” जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन् । यहाँ गत वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो । यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो । 

नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम सुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना बिक्री नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ ।” नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उहाँको भनाइ छ । भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना बिक्री वितरणमा समस्या आएको उहाँले बताउनुभयो । नेपालमा हाल १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *