उपराष्ट्रपति यादव र जापानी राजदूत तोरुबिच शिष्टाचार भेटवार्ता

न्भेष्टाेपेपर । माघ ११, २०८१

काठमाडौं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र जापानबिच ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्नुहुँदै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको दुई देशबिचको सम्बन्ध थप घनिष्ठ एवम् मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको बताउनुभयो । 

‘दुई देशबिच औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा पनि द्विपक्षीय सम्बन्ध उत्तिकै बलियो रहिआएकोमा खुशी व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाललाई भूकम्पलगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति धन्यवाद दिन चाहन्छु ।’’

उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिएको उल्लेख गर्नुहुँदै हाम्रा दुई देशका सरकार र जनस्तरमा अत्यन्त सुमधुर सम्बन्धका साथ राम्रो मित्रता, समझदारी र सहयोगी भावना अभिवृद्धि भइरहेको बताउनुभयो । 

‘‘नेपाल र जापानबिच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएकोमा तपाईं (महामहिम राजदूत) को कार्यकालमा हाम्रो सम्बन्ध थप प्रगाढ हुनेमा म विश्वस्त छु ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘दुई देशबिच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान नेपाल र जापानबिच रहिआएको अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम हो । यी भ्रमणहरूले हाम्रा दुई देशबिचको गतिशील सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको छ ।’’

उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान सन् १९५४ देखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहिआएको बताउनुभयो । ‘‘जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् । हामी औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’’

उपराष्ट्रपति यादवले मानव संसाधन विकासमा जापानले नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

‘‘नेपाल ‘२०२५ वर्ल्ड एक्सपो’, ओसाका, जापानमा सहभागी हुन लागेकोमा खुशीको विषय हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्‍याउनुका साथै नेपाली उत्पादनहरु प्रदर्शन गर्ने पर्याप्त अवसर सृजना गर्न सक्दछ ।’’

उहाँले नेपालको समग्र सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद व्यक्त गर्दै महामहिमले आगामी दिनमा हाम्रा आर्थिक सहयोग र सहकार्यका विषयहरु एवम् द्विपक्षीय व्यापार तथा लगानीका विषयहरुलाई उच्च प्राथमिकता दिँदै नेपाल–जापान सम्बन्ध थप उचाईमा पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरूले नेपाललाई जापानी सहयोग जारी रहने उल्लेख गर्दै नागढुङ्गा सुरुङ मार्ग यसै वर्ष सञ्चालनमा आउने बताउनुभयो । ‘‘नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना पूर्वदेखि नै राम्रो र मजबुत सम्बन्ध छ ।’’ उहाँले भन्नुभयो, ‘‘मेरो कार्यकालमा देश–देशबिच मात्र नभई व्यक्ति–व्यक्तिको सम्बन्ध बलियो बनाउने प्रयास हुनेछ ।’’ राजदूत तोरुले नेपालले ओसाका एक्स्पोमा सहभागिता जनाउने विषयले आफू खुशी भएको बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *