चीनमा कोरोना संक्रमण घट्दै : आन्हुई प्रान्तका सबै बिरामी डिस्चार्ज,अस्थायी अस्पतालहरु बन्द गरिँदै

इन्भेष्टोपेपर । फागुन २६, २०७६ 

बेइजिङ — पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरस(कोभिड–१९) का सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार आन्हुई प्रान्तीय सरकारले दिएको जानकारीअुनसार अब प्रदेशका अस्पतालमा कोभिड–१९ संक्रमित रहेका छैनन् । 

प्रादेशिक स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म आन्हुई प्रान्तमा कोभिड–१९ संक्रमितको संख्या ९ सय ९० पुगेको थियो। प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने ९ सय ८४ जना निको भएका छन्।

चिनियाँ अधिकारीका अनुसार आन्हुई प्रान्तमा संक्रमितमध्ये ९९.४ प्रतिशत निको भएका छन्। अहिले पनि ४ सय ३२ जना चिकित्सकको निगरानीमा रहेका छन्। पछिल्लो १० दिनमा प्रदेशमा थप संक्रमण नदेखिएको पनि स्वास्थ्य आयोगले जनाएको छ।

अस्थायी अस्पताल बन्द

कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या घट्दै गएपछि चीनमा बनाइएका अस्थायी अस्पतालहरु औपचारिक रुपमा बन्द गरिएको छ। अस्थायी अस्पतालका रुपमा तयार पारिएको ‘वुहान लिभिङ रुम’ आइतबारदेखि आधिकारिक रुपमा बन्द गरिएको छ। त्यहाँ रहेका सबै बिरामी डिस्चार्ज भएपछि अस्पताल बन्द गरिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

पछिल्लो समय चीनमा कोभिड–१९ को संक्रमण घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा चीनमा थप ४३ जनामा संक्रमण देखिएको छ भने २३ जनाको मात्रै मृत्यु भएको छ। सोमबार दिउँसोसम्म चीनमा ८० हजार ७ सय ३८ जनामा संक्रमण देखिएको छ भने ३ हजार एक सय २० जनाको मृत्यु भएको छ। त्यस्तै ५८ हजारभन्दा बढी निको भएका छन् ।

विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार ८ सय ३१ को मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

— एजेन्सी / कान्तिपुर दैनिक

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *