दिल्ली सरकारका स्वास्थ्य मन्त्री सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ
इन्भेष्टाेपेपर । जेठ १७, २०७९
काठमाडौं । अरविन्द केजरीवाल नेतृत्वको भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् ।
अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गत फेब्रुअरीमै सूत्रहरूका अनुसार जैनलाई पक्राउ गर्न लागिएको थाहा भएको बताएका थिए । केन्द्र सरकारले आम आदमी पार्टीलाई निशाना बनाइरहेको उनको भनाइ थियो । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज समेत हुन् ।
केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मी पार्टीले पञ्जावमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । आम आद्मीले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने उद्घोष गर्दै आएको छ ।
केही दिनअघि मात्रै पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले घूस मागेको आरोपमा स्वास्थ्यमन्त्री डा. विजय सिंगलालाई बर्खास्त गरेका थिए ।
