फूलको माग ४० प्रतिशत घट्ने, फूल तथा माला आयातमा रोक लगाउने अभियान

इन्भेष्टाेपेपर । कार्तिक १७, २०७७

काठमाडौँ । फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा उत्पादिन फूलले बजार नपाउने भन्दै किसान तथा व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले फूल आयात रोक्ने अभियानअन्तर्गत यही साता भैँसेपाटीबाट सयपत्रीका १० हजार माला जफत गरी नष्ट गरेको जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले कोभिड–१९ का कारण यस वर्ष तिहारमा बजारमा सयपत्री फूलको माग कम हुने र स्वदेशी उत्पादन राम्रो भएकाले फूल आयातलाई निस्तेज गर्ने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षहरूमा जस्तो यस वर्ष फूलको धेरै माग नभए पनि फूल व्यवसायीलाई तिहारले थोरै भए पनि टिक्ने आधार दिन्छ कि भन्ने आशा छ । भारतबाट आयात खुला गरियो भने त सबै लगानी डुब्छ ।

एसोसिएसनका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा झन्डै १२ लाख सयपत्री र तीन लाख मखमली गरी १५ लाख मात्रै मालाको माग हुने देखिएको छ । अघिल्लो वर्ष २२ लाख माला नेपालमै उत्पादन भएका थिए । यस वर्ष फूल उत्पादन १५ प्रतिशतले बढेको छ ।

एसोसिएसनका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको छ । गएको वर्षको तिहारमा लगभग तीन लाख माला भारतबाट ल्याइएको थियो ।

अध्यक्ष श्रेष्ठले व्यवसायीले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएको हुनाले उत्पादन राम्रो र पर्याप्त भएको दाबी गर्नुभयो । उहाँका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँभन्दा बढी तिर्नु पर्दैन । अध्यक्ष श्रेष्ठले योभन्दा महँगो हुन नदिने एसोसिएसनको नीति रहेको पनि जानकारी दिनुभयो ।

अघिल्लो वर्षमा तिहारमा मात्रै १८ करोड रुपियाँको फूलको कारोबार भएकामा यो वर्ष भने बजारमा माग कमी भएकाले कारोबार कम हुने देखिएको छ । एसोसिएसनका अनुसार गत वर्ष झन्डै चार अर्बको फूलको कारोबार गर्ने लक्ष्यसहित लगानी बढाएकामा कोभिडका कारण दुई अर्ब ४२ करोड बराबरको मात्रै कारोबार भयो । चालू आर्थिक वर्षमा तीन अर्बभन्दा बढीको कारोबार
हुने अपेक्षा छ ।

अध्यक्ष श्रेष्ठले मन्दिर पूजाआजालगायतमा सहज नहुँदाको अवस्थामा समेत हाल दैनिक १० हजारदेखि १५ हजार माला खपत भइरहेको र उत्पादन पनि यो वर्ष राम्रै भएकाले अपेक्षाकृत कारोबार हुने देखिएको बताउनुभयो । गारखापत्र दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *