शेयरको अभौतिकीकरण (DEMAT) र यसको महत्व

सामान्यतया विभिन्न सूचीकृत संगठित संस्थाले जारी गरेको धितोपत्र (शेयर तथा ऋणपत्र) लाई विद्युतिय माध्यमबाट सम्बधित शेयरधनीको खातामा जम्मा गर्ने कार्यलाई शेयरको “अभौतिकिकरण” (dematerialization or immobilisation) भनिन्छ । यसले कागज विहिन सेटलमेन्ट पद्दतिलाई संचालन गर्न मद्दत पुर्याउंछ ।

विश्व बजारमा हेर्ने हो भने न्युयोर्क स्टक एक्स्चेन्ज जस्तो विश्व कै ठुलो धितोपत्र बजारमा शेयर कारोवारमा ठूलो मात्रामा कागजको प्रयोग हुने गरेबाट सन् १९६८ मा कुल २४ पटक बजार बन्द भएको तथ्याङ्कले देखाउँछ यसलाइ “Paperwork Crisis” भनि नामाकरण गरिएको थियो । त्यहाँ बुधबारको दिन बजार बन्द गर्ने, कारोवारको अवधि (घण्टा) कम गर्ने, शेयरको राफसाफ पाँचदेखि छ दिनसम्म बढाउने जस्ता तत्कालका लागि अल्पकालिन कदम चालिए पनि पछि दीर्घकालिन समस्या समाधानको रुपमा शेयरको अभौतिकीकरण गर्ने कार्यको थालनी भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा बजार पूँजीकरण तथा शेयरको अभौतिकीकरणबीचको अन्र्तसम्बन्ध Demat Equity Market Capitalisation as % of Total Equity Market Capitalisation) समेत महत्वपूर्ण सूचकको रुपमा लिने गरेको देख्न सकिन्छ ।

नेपालको सन्दर्भमा धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ जारी भए पश्चात् धितोपत्रको अभौतिकीकरण गर्ने जिम्मेवारी सहितको केन्द्रीय निक्षेप एण्ड क्लियरिङ लिमिटेडको स्थापना भयो र मिति २०६७ चैत्र १७ औपचारिक रुपमा उक्त लि. को विधिवत उद्घाटन भए पश्चात क्रमवद्ध रुपमा शेयरको अभौतिकीकरण शुरु भएको देखिन्छ । शेयरको अभौतिकीकरण प्रत्यक्ष रुपमा सूचना प्रविधिसँग जोडिन जान्छ । सूचना प्रविधिको उपयोगबाट धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी तथा आधुनिकीकरण गर्न सहयोग पुग्छ । नेपालमा हाल डिम्याट खाता तथा डिम्याट खातासँग आवद्घ रहेका संस्था सम्बन्धी विवरण देहाय अनुरुप रहेको देखिन्छ ।

demat

नेपालको धितोपत्र बजारमा डिम्याट खाता लागू भएसँगै धितोपत्र बजारले आधुनिकिकरणको प्रस्थान विन्दु प्राप्त गरेको हो । यस कार्यबाट नेपालका वित्तीय संस्थाहरु र पूँजी बजारसँग आवद्ध संस्थाबीच एकीकृत हुन भएको देख्न सकिन्छ । धितोपत्रको प्राथमिक निष्काशन तथा हकप्रद निष्काशनमा वित्तीय संस्थाहरुसमेतको सहभागितमा रहने आस्वा सेवाको सुरुवात संभव भएको छ । आस्वा सेवाका कारण प्राथमिक निष्काशन तथा हकप्रद निष्काशनमा आवेदनका साथ बुझाएको रकम तथा उक्त रकम फिर्ता हुने जस्ता गतिविधि बैंक मार्फत सुरक्षित र सहज रुपमा गर्न मद्दत पुगेको छ । डिम्याटको कार्यान्वयनसँगै निक्षेप सेवा सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरको कार्यपद्दतीमा आमूल परिवर्तन आएको देख्न सकिन्छ । साथसाथै वित्तीय संस्थाको कार्यक्षेत्रमा समेत वृद्वि प्रत्यक्ष देख्न सकिन्छ । निक्षेप सेवा सहितको मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कार्य गर्न नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी खोली कार्यारम्भ गरिसकेकाले पूर्वाधार तथा क्षमता भएका नयाँ नयाँ संस्थाहरुको आगमन भएको देख्न सकिन्छ । लगानीकर्ताहरुले उचित मूल्यमा प्रभावकारी तथा प्रतिस्पर्धात्मक सेवा लिन सकेको देखिन्छ । प्राथमिन निष्काशनमा आस्वा सोवको व्यवस्था, वित्तीय संस्थाहरुको पँहुच देशभरी भएको र ति संस्थासँग सूचना प्रविधिको राम्रो पूर्वाधार रहेको पृष्ठभूमिमा देशभरका नागरिकलाई सार्वजनिक निष्काशनको शेयर आवेदन गर्न सहज र सम्भव भएको छ ।

डिम्याट खाताको कारण नगद लाभांश तथा वोनस शेयर जस्ता संस्थागत लाभ सिधै शेयरधनीको बैंक खाता वा डिम्याट खातामा जम्मा हुने कार्यको प्रारम्भ भएको छ । सार्वजनिक निष्काशनमा मोवाईल तथा कम्प्युटरबाट अनलाइन मार्फत आवेदन गर्न सम्भव भएको छ । साथै Online मार्फत डिम्याट सेवा प्रारम्भ गर्न सम्भव बनाएको तथा हालको दोस्रो बजारमा अनलाइन कारोवार गर्न यसले महत्वपूर्ण योगदान गरेको देखिन्छ । साथै राफसाफ तथा फछ्र्यौट चक्रलाई T+3 (date-plus-three) बाट T+1 (date-plus-one)  मा लैजान, अन्तरदेशिय (क्रस बोर्डर) कारोवार, सूचीकृत कम्पनीहरुको वार्षिक साधारणसभामा Online Voting को व्यवस्था गर्न तथा पूँजी बजारमा Fintech को प्रयोग बढाउन सहायक सिद्ध हुने निश्चित नै छ ।

शेयरको अभौतिकिकरणको शुरुवातसँगै शेयरको प्राथमिक तथा दोस्रो बजारमा प्रवेश गर्न तथा कारोवार गर्न सहज र सरल हुन गएको पृष्ठभूमिमा समग्र धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्वि भै दीर्घकालिन पूँजी परिचालनमा सहयोग पुग्ने देखिन्छ ।

अनुज कुमार रिमाल
का.मु. निर्देशक, सेबन

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

One thought on “शेयरको अभौतिकीकरण (DEMAT) र यसको महत्व

  • April 4, 2019 at 7:20 pm
    Permalink

    dmat ma ta aayo aba yesko bikri bitaranko lagi chahi k garnu parx.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *