गद्य कविता : धुन्धुकारी पात्र
— कल्पना आचार्य
गोहिका आँसुझारी बिलौना गर्दै थियो ऊ,
….मान पुगेन भन्थ्यो,
….घान पुगेन भन्थ्यो,
….सम्मान पुगेन भन्थ्यो
एकोहोरो कराई रहन्थ्यो
आकांक्षामा हराई रहन्थ्यो ।।
ऊ !
कपडामा खादी हुँ भन्थ्यो ,
ठूलै शिद्धान्तवादी हुँ भन्थ्यो
सभा,समारोहमा शिर झुकाउँथ्यो
मोही माग्दै ढुङ्ग्रो लुकाउँथ्यो ।
नपाउन्जेल बुरुक्क गर्थ्यो,
पाएपछि फूरुक्क पर्थ्यो ।।
बिचरा ऊ,
अचेल अर्कै देश गएछ !
सर्वसाधारणलाई नचिन्ने भएछ ।
पराईको कोटामा परेछ,
अवमूल्यनको खोटामा परेछ
र पनि आफूलाई भन्सार सम्झन्छ,
त्यहीँ आफ्नो संन्सार सम्झन्छ ।।
सूर्यलाई हत्केलाले छेक्छ,
कालोलाई से…तो देख्छ ।
बौलाहको झुण्डलाई मेरै हो भन्छ,
चोर्छ,थप्छ,फोटो खिच्छ र गन्छ ।
विचारको असक्त छ,
ख्वामितको भक्त छ
सामजिक सञ्जालमा भजन गाउँछ
सोहि माध्यमबाट मनग्य तेल लाउँछ ।।
र,अचेल ऊ,
आफ्नै देशको उछित्तो काड्छ,
मार्छ,र सुद्धाईंको निम्तो बाँड्छ
हिजो सम्म पुराणको पारखी,
आज ऊ! कुरान पढ्छ र लेख्छ
उस्को गोरु बाह्रै टक्का
अरुको गोरू लङ्गडो देख्छ ।
आफूलाई गुरु सम्झन्छ बबुरो छात्र,
कुल नाशक धुन्धुकारी पात्र ।।
२०७८\०९\२१
ईटहरी ०५ सुनसरी ।
