कुकुर पाल्ने रहर छ ? अब अनुमति लिनुपर्ने र जिम्मेवारी पनि थपिदै

इन्भेष्टोपेपर ।  असार ८, २०७७

काठमाडौ ।  राजधानी काठमाडौँ बसेर घरमा कुुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नुपर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।

घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ । महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुकुर पाल्न पाइने छैन । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नुपर्नेछ ।

महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले कुकुर पाल्न नसकेर छाडा छोड्ने, बाटोमा मलमूत्र त्याग गराउने लगायतका समस्या समाधान गर्न दर्ता गरेर मात्रै कुकुर पाल्नुपर्ने नयाँ प्रावधान तय गरिएको जानकारी दिनुभयो । कुकुर पाल्न तिर्नुपर्ने शुल्क, त्यसको स्वास्थ्य सावधानी कसरी अपनाउने भन्ने कुराको टुङ्गो भने छिट्टै लगाउने जनाइएको छ । साथै एक घरमा कतिवटासम्म कुकुर पाल्न पाइने, त्यसको पालनपोषण कसरी गर्ने लगायतका विषयमा समेत कार्यविधि बनाइनेछ ।

कुकुर पालेबापतको शुल्क भने महानगरपालिकाको नयाँ बजेटमा तय हुनेछ । असार १० भित्र महानगरपालिकाको नयाँ बजेट प्रस्तुत हुनेछ । महानगरपालिका–७ का सदस्य कृष्णमणि भट्टराईले नयाँ व्यवस्थाले कुकुरपालन व्यवस्थित बनाउने जानकारी दिनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *