कागजीबदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता, सङ्ख्यामा वृद्धि
इन्भेष्टोपेपर । कार्तिक २६, २०७८
नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनट जस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ।
चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन्।
पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको सङ्ख्या घट्ने क्रम देखिएका बेला सो शोध गरिएको हो।
शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण पनि भेटिएको छ।
अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ।
वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे।
१- एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो
२- अर्को समूहको भोजनमा परिवर्तन गरिएन
बदाम आदि फल खाने समूहको शुक्रकीटको सङ्ख्या र गुणमा सुधार आयो।
- सङ्ख्यामा १४ प्रतिशतले
- क्षमतामा ४ प्रतिशतले
- गतिशीलतामा ६ प्रतिशतले
- आकारमा १ प्रतिशतले
यी सबै विश्व स्वास्थ्य सङ्गठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन्। र, यिनको पुरुषको प्रजननक्षमतासँग सम्बन्ध हुन्छ। ओमिगा-३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजनन शक्ति बढाउन सघाउँछन् भन्ने अरू शोधहरूको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बताएका छन्।
बदाम र ओखरजस्ता फलहरूमा यी र अन्य पोषक तत्त्वहरू हुन्छन्। “स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदैछन्,” शोधको नेतृत्व गरेका स्पेनस्थित रोभिरा ई भिर्जिलीका डा. अल्बर्ट सालास – हुएटोसले भने।
तर अध्ययनमा संलग्न पुरुषहरू स्वस्थ र प्रजनन गर्न सक्षम ठानिएकाले यो शोधको परिणाम प्रजननमा समस्या भएका व्यक्ति र अन्य पुरुषमा लागु होला कि नहोला त्यो स्पष्ट नभएको शोधकर्ताहरूले बताएका छन्।
— बीबीसीबाट
