यूएईले आणविक ऊर्जामार्फत शुरु गर्यो विद्युत् उत्पादन
इन्भेष्टोपेपर । भाद्र ०५, २०७७
दुबई । तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत् उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत् गत बुधवारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।
राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत् गृह (प्लान्ट) बाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा जोएिको छ । वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरुले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण अन्य संचार माध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन ।
जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो । एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन ।अन्तरराष्ट्रिय आणविक ऊर्जा संगठन र अरु नियामक निकायका अधिकारीहरुले उक्त प्लान्टको स्थलगत अध्ययन गरिसकेको छ । यूएईका अधिकारीहरुले कोराना महामारी अघि पनि उक्त स्थानलाई अति सुरक्षित र गोप्य राखेका छन् ।
यो प्लान्टमाथि डिसेम्बर २०१७ मा यमनका विद्रोही हुथी समूहले आक्रमणको निशाना बनाएको विश्वास गरिएको छ । हुथी विद्रोहीले आफूहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए पनि यूएईले त्यसलाई अस्वीकार गरेको थियो । बाराकाह प्लान्टमा चार ओटा रियाक्टर राखिएका छन् जसबाट यूएईलाई आवश्यक विद्युतमध्ये करीब २५ प्रतिशत प्राप्त हुनेछ ।
यो आणविक विद्युत् गृह दक्षिण कोरियाको सहयोगमा करीब २० अर्ब डलरमा निर्माण भएको हो । संयुक्तराज्य अमेरिकाले यूएईले आणविक प्रविधिमार्फत विद्युत् उत्पादन गर्न लागेकामा प्रसन्नता व्यक्त गरेको छ । रासस/ एपी
