पाँच वर्षभित्र ५० अर्बको बिजुली बेच्ने योजना
इन्भेष्टोपेपर । फागुन २७, २०७६
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ ।
हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७/०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ ।
चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७/७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८/७९ मा ८ अर्ब १८ करोड ३० लाख, २०७९/८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०/८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ ।
पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्याउने योजना छ । आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन ।
विशेष गरी सरकारले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका निर्माण गरेपनि नेपाल लगायतले भने अझै यसबारे कुनै नीति बनाइसकेका छैनन् ।
चालू वर्षमा ९७ प्रतिशत विद्युत् मागलाई धानिरहेकोमा अर्को वर्षदेखिनै पूर्ण रुपमा धान्ने योजनामा उल्लेख छ । यसअघि विद्युत् प्राधिकरणले भने जलाशययुक्त आयोजना निर्माण सम्पन्न नभएसम्म स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुने अवस्था नरहेको उल्लेख गर्दै आएको थियो । यसका लागि नेपाल–भारतबीच इनर्जी बैकिङको अवधारणा पनि अघि बढेको छ । याे समाचार आजकाे काराेवार दैनिकमा प्रकाशित भएकाे छ ।
