आगामी साउनबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिँदै

इन्भेष्टोपेपर । असार १५, २०७

काठमाडौं । सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिस्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा भइसकेको बताउँदै उनले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको स्पष्ट पारे ।

सबै प्रकारका पुराना सवारीसाधनको हकमा विभागले सूचना जारी गर्दै ‘लट’अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गरिने र अबको तीन वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने छ । उनले भने, “सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेपछि नम्बर प्लेटमा एकरूपताका साथै यातायात विभागमा मुलुकभरिका सवारीसाधनको एकीकृत विवरण प्राप्त हुनेछ । सवारीसाधनको प्रयोग गरी हुने आपराधिक घटनाको अनुसन्धानमा समेत सहजता आउनेछ । ”

इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) डिभाइस जडान गरिएको हुन्छ जसले सवारीसाधन रहेको ठाउँबारे जानकारी दिने गर्दछ । सो डिभाइसमा सम्बन्धित सवारीसाधनबारे सम्पूर्ण जानकारी उपलब्ध गराइएको हुन्छ । इम्बोस्ड नम्बर प्लेट जडान भएको सवारीसाधनको ट्राफिक प्रहरीले ‘ब्लु बुक’ हेरिरहनु पर्दैन । प्लेटमा जडान गरिएको आरएफआईडी डिभाइसमा ट्याग गरियो भने सवारीधनीले कर तिरेको वा नतिरेको स्पष्टै देखिन्छ ।

इम्बोस्ड नम्बर प्लेट जडानपछि निकाल्न मिल्दैन । निकाल्नका लागि काट्नै पर्ने भएकाले इम्बोस्ड नम्बर जडान गरिएको सवारीसाधनलाई चोरी गरेर वा गैरकानुनी रूपमा चलाउन नमिल्ने यातायात विभागको दाबी छ ।

इम्बोस्ड नम्बर प्लेटलाई रिडर मेसिनले चेकजाँच गरी सवारीसाधन र सवारी मालिकको सम्पूर्ण विवरण सहजै पत्ता लगाउन सकिने भएकाले यसलाई सुरक्षित मानिएको छ । यो नम्बर प्लेटमा चिप्स राखिएको हुन्छ जसमा सवारीधनी र सवारीका सम्पूर्ण विवरण हुन्छन् ।

विभागका अनुसार इम्बोस्ड नम्बर जडानका लागि दुई पाङ्ग्रे सवारीसाधनका लागि दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई सय र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ राजस्व कायम गरिएको छ । विभागका अनुसार अहिलेसम्म मुलुकभरि १८ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन् ।

अहिले बागमती प्रदेशबाट मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम भइरहेकोमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्न सम्बन्धित प्रदेश यातायात मन्त्रालय र यातायात कार्यालयहरूमा पत्राचार भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ । (आजको गोरखापत्र दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *