राष्ट्रिय कविता महोत्सव २०७८मा तेश्राे स्थान हासिल गरेका तीन कविता
इन्भेष्टोपेपर । असार १५, २०७८
राष्ट्रिय कविता महाेत्सव २०७८ मा तीन जना कविका कविताहरूलाइ तेश्राे भएकाे घाेषणा गरिएकाे थियाे । तेश्राे स्थान हासिल गर्ने कविहरूमा ताप्लेजुङकी कवि सविता बराल, बर्दियाका कवि निरञ्जना कुमारी चन्द र नुवाकोटका कवि प्रकाश सिलवाल रहनु भएकाे छ ।
कविहरूले वाचन गर्नु भएकाे कविताहरू यसप्रकार रहेका छन् ।
शीर्षक: आमा म आएँ अब
— कवि सविता बराल, ताप्लेजुङ (छन्द – शार्दूलविक्रिडित)
हाँस्छन् शैल, मनुष्य पल्लवित छन्,बोल्छन् शिलागौरव
इन्द्रेनीमय जात, धर्म, थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टिकला अमूल्य निधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब ।।
मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
रोदी, मादल, धाननाच, जितिया बन्धुत्वका रक्षक
गाऔँ गान ‘सयौँ थुँगा‘’ सँगसँगै आमा म आएँ अब ।।
टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोउन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु, चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ, म आएँ अब ।।
मेरा पाउ समृद्ध छन्, शिर उँचो, छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दैछु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौलाद्वार सुशान्तिका, प्रगतिका खोलेर आएँ अब ।।
बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
कोसीझैँ अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमानिचोर्न पसिना आमा म आएँ अब ।।
शीर्षक: युगीन प्रतिध्वनि
— कवि निरञ्जना कुमारी चन्द, बर्दिया
अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै
भष्मासुर र भाइरसका पटकपटकका विश्वयुद्धहरू
र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका
युगीन त्रासदीहरूमा
छातीमा अड्याएर जीवन
पिइदिऊँ घामका लप्काहरू
छाइदिऊँ शीतलता
सँगालेर जूनका टुक्राहरू
लाइदिऊँ माला
उनेर गुराँसका थुँगाहरू।
विशाल हृदयहरूको खानी
विश्वभूगोलको एक टुक्रा मेरो देश
धावा दिएर गाउँछ गीत वीरताको
र उचालेर चन्द्रसूर्य
म लगाउँछु सिँदुर
भुइँको एक चिम्टी माटो उठाइ
गाउँछु गीत सगरमाथा उचाइको ।
छोडेर विध्वंसका अस्त्रहरू
आत्मज्ञान विस्फोट गराइ कोहिनुर उज्यालामा
गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
विश्व व्रम्ह्याण्डभर गुन्जाएर बुद्धका मन्त्रध्वनिहरू
उडाइदिऊँ सेता परेवाका जोडीहरू
रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिऊँ मानवताका सम्यक् बीजहरू।
आऊ श्रमका पुजारीहरू!
पौरखी जिजीविषा फुलाएर
फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि
समृद्धिका आशातीत रङ्गहरू इन्द्रेणीमा
पोतिदिऊँ धर्तीमा झिकाएर
चिहानबाटै जुरमुराएर
बिहानबाटै ब्युँझिएर
रोपिदिऊँ समानताका सुन्दर बोटहरू।
जीवनका अप्ठ्यारा आँधीहुरीहरूमा
मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।
उठ ए झुपडीका ताता मान्छेहरू!
सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर
जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!
बुलन्द गराइदिऊँ दबाइएका आवाज
पुरिदिऊँ गहिरा खाडलहरू ।
शीर्षक: बोधिसत्व खोप
— कवि प्रकाश सिलवाल, नुवाकाेट
कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाइ चपाइ स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?
घरी कर्ममौरीहरुलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफैंलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घण्टौँ कर्कश सम्बोधन गर्छ !
यो कस्तो सङ्क्रमण हो
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
रानीमहलका जोडीले झैँ
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !
यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरु
प्रिय बुद्धभूमिविरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरु‘
सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !
