पर्यटक लोभ्याउँदै साँख दह

न्भेष्टाेपेपर । साउन १४, २०८०

रुकुमपश्चिम ।  रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ मा रहेको साँखदह पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । जिल्ला सदरमुकाम रहेकै पालिकामा रहेको र मध्येपहाडि लोकमार्गको छेउमा रहेको सुन्दर साँखगाउँको मध्यभागमा रहेको यो दह अवलोकनका लागि पर्यटकहरु पुग्ने गरेका छन्। 

वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचनाहरु निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो । अहिले विभिन्न संरचनाहरु निर्माणपश्चात साँखदहको स्वरुप बदलिएको वडा अध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । 

नेपाल सरकारको विशेष अनुदानमार्फत् साँखदहमा विभिन्न संरचनाहरु बनाएपछि पछिल्लो समय दह अवलोकनका लागि पर्यटकहरु आउन थालेका छन् । दह परिसरमा पर्यटन प्रर्वद्धनका लागि गेट निर्माण गरिएको छ भने प्रतिक्षालय, दह वरिपरी बाटो, रेलिङ बनाईएको छ । त्यसैगरी, दहमा मिसिन आउने अनावश्यक पानीको निकासका लागि पिसीसि नाला समेत निर्माण गरिएको छ। 

वडा अध्यक्ष पाण्डेले दहमा संरचनाहरु व्यवस्थित गरिएपछि पशुचौपायहरु जथाभावि जानबाट रोकिएको छ । तालमा वर्षायाममा पानी भरिन्छ भने हिउँदयाममा पानी कम हुने गर्दछ । वडा अध्यक्ष पाण्डेले तालमा बाह्रै महिना पानी भरिभराउ बनाउन बाहिरको पानी ल्याउने योजना रहेको सुनाउनुभयो । अहिले दहको विभिन्न भागहरुमा पानीका मुहानहरु फुट्ने गरेका छन् । 

दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याएपछि घुम्न लायक भएको मुसीकोट नगरपालिका १ का डम्बर थापाले बताउनुभयो । थापाले दह व्यवस्थित नहुँदा भैँसीहरु आहाल बसेको, दह पुरिँदै गएको देखिने गरेतापनि अब भने हेर्न र घुम्न लायक भएको जनाउनुभयो । तालको अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने व्यवस्था रहेको थापाले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *