वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ
इन्भेष्टोपेपर । कार्तिक १२, २०७८
अमरगढी । नेपाल सि आरएस कम्पनीले पहिलोपटक डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक भव्य कार्यक्रमका बीच सेनिटरी प्याडको शुभारम्भ गरेको हो ।
अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफ डब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धर लगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएकाे हाे ।
ग्रामिण क्षेत्रमा मातृ तथा बाल शिशु स्याहार सुधार आईसि एमसि सिआर कार्यक्रम अन्तरर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सिआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिनु भयाे । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरा सहित बैतडी, डोटी र बझाङमा लागू छ ।
यस कार्यक्रमले विद्यालयका छात्रा लगायत महिलाहरूमा महिनावारीका बेला सकारात्मक परिवर्तको ज्ञान दिने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालन भएका जिल्लामा वातारण मैत्री प्याड सुथत मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुगाउने लक्ष्य लिइएको छ ।
अमरगढी नगरपालिका डडेल्धुराका नगर प्रमुख विशेश्वर प्रासद ओझाले नेपाली समाजमा व्याप्त सामाजिक विभेद अन्त्य गर्न बायो डिग्रेडेबल प्याडले सामाजिक बजारीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे । साथै, यो भेदभाव अन्त्य गर्न सबैजना विशेष गरी समुदायका पुरुष सदस्यहरू एकजुट हुनुपर्ने बताउनु भयाे।
