१४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’ : प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

इन्भेष्टोपेपर । फागुन २, २०७८

काठमाडौँ ।  भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमी/प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् ।

चेल्सी इन्टरनेसनलमा अध्यनरत सौगात मधिकर्मी यस दिनलाई माया गर्नेहरूको दिन हो भन्नुुहुन्छ । उहाँका अनुसार आफूले मन पराएका व्यक्ति पनि यही दिनको प्रतीक्षामा हुन्छ । सामान्य दिनभन्दा पनि भ्यालेन्टाइन डेमा अलि सचेत हुने भएकाले यस दिनमा माया साटासाट गर्न सजिलो हुन्छ । उहाँले आफूले माया गर्ने व्यक्तिलाई कति धेरै माया गर्छु भनेर ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै पाइने धारणा व्यक्त गर्नुभयो ।

नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहितका लागि पनि प्रेम सम्बन्ध अरू प्रगाढ बनाउने दिन पनि यसलाई मानिन्छ । त्यसैले भर्खर विवाह बन्धनमा बाँधिनुभएका बालाजुका सञ्जय कार्कीलाई फेब्रुअरी ७ देखि नै फुर्सद छैन ।

“भ्यालेन्टाइन सप्ताहको पहिलो दिनमा रोज डे भनेर रातो गुलाफ दिएँ”, उहाँले भन्नुभयो, “दोस्रो दिनमा प्रपोज डे, तेस्रो, चौथो, पाँचाँै, छैठौँ, क्रमशः चकलेट डे, टेडी डे, प्रमिस डेमा विभिन्न उपहार दिएर मेरी प्रेमिका अर्थात् श्रीमतीलाई खुुसी बनाउँदैछु । ” भ्यालेन्टाइन डेमा चाहिँ नगरकोट जाने योजना रहेको उहाँले बताउनुभयो । कार्कीले थप्नुभयो, “यति नगरे श्रीमती रिसाउँछिन् । पश्चिमी संस्कृति भए पनि खुसीका लागि मान्नै परेको छ । ”

एक दशकयता अत्याधुनिक प्रविधिले नेपालमा भ्यालेन्टाइन डेको रौनक ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्न प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना–ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । खिचापोखरीस्थित आर्चिज गिफ्ट पसलका व्यापारी रूपा तामाङले वर्ष दिनमा सबैभन्दा बढी व्यापार भ्यालेन्टाइनमा हुने बताउनुभयो ।

उहाँले यस अवसरमा रातो गुलाफ तथा ‘आई लभ यु’ लेखिएका विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, अत्तर, चकलेट जस्ता सामान बढी बिक्री हुने पनि जानकारी दिनुभयो ।

तामाङले युवापुस्ता धेरै आउने जानकारी दिँदै भन्नुभयो, “व्यापारीलाई त फाइदा नै हुन्छ तर युवापुस्ताले पश्चिमी संस्कृति अँगालेको भने मन परेको छैन । ” एक दिन मनाए पुग्ने ठाउँमा हप्तैभरि भ्यालेन्टाइन डे मनाउने राम्रो नभएको उहाँले आफ्नो प्रतिक्रिया दिनुभयो ।

यसैगरी दरबारमार्गस्थित गिफ्ट पसलमा सामान खरिद गरिरहनुभएका कल्पना राजभण्डारीले प्रेम गर्ने शैली परिवर्तन भएको भन्दै आफ्नो प्रेमीले गिफ्ट दिएपछि आफूले पनि दिनु नै पर्ने बताउनुभयो । “प्रेमको यो पर्व आफैँमा सुखद क्षण बनेर आउँछ तर यस दिनमा गरिने प्रेम प्रस्ताव सम्बन्ध र आकर्षण गराउने शैली शिष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो ।

भ्यालेन्टाइन डेको सुरुवात इ.सं. २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थियो तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।

झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो । याे समाचार गाेरखापत्रमा यलु जाेशीले लेख्नु भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *