जुनेली रातमा अन्न सुकाउने पर्व

न्भेष्टाेपेपर । मंसिर २, २०८१

गोरखा । कास्की घर भएका दिलबहादुर श्रेष्ठ गोरखा नगरपालिका–६ ठूलोआँगनमा जूनको उज्यालोमा मकै सुकाउने सकिमना पुन्हिः पर्वमा रमाइरहेका थिए । एकादशीदेखि पाँच दिनसम्म व्रत बसेर पूर्णिमाको रात चन्द्रमा उदाएपछि सुकाइएको नौ थरी अन्न प्रसादका रूपमा ग्रहण गरिन्छ ।

‘हाम्रा संस्कृति लोप हुँदै गएका छन्, एकादशीदेखि पाँच दिनसम्म व्रत बसेर पूर्णिमाको रात चन्द्रमा उदाएपछि अन्न सुकाउने प्रचलन हो,’ उनले भने, ‘हाम्रो जातिको यो प्रचलन यहाँ देख्न पाइँदो रहेछ, निकै खुसी लाग्यो ।’ कात्तिक शुल्क पूर्णिमाको रात अमृत वर्षा हुने जनविश्वासका साथ यो पर्व मनाइने गरिन्छ ।

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा शुक्रबार ठूलोआँगनमा उक्त पर्व मनाइएको हो । देवताको आकृति बनाएर अन्नलाई जूनको उज्यालोमा सुकाउने चलन छ । यसरी पूजा गरेको अन्न प्रसादका रूपमा खाने प्रचलन रहको धारापानीकी देवमाया श्रेष्ठले बताइन् । ‘पहिले सबैको घरमा हुन्थ्यो, केही वर्षयता सामूहिक रूपमा मनाउन थालेका छौं,’ उनले भनिन् ।

मकैलगायतका अन्नको पूजा गरी ग्रहण गर्ने परम्परालाई निरन्तरता दिएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए । मकै, जुनेलो, पिँडालु, उखु, मास, सखरखण्डलगायत अन्नसहितका उत्पादन उब्जनी भएपछि यसरी नै जूनमा सुकाउने चलन रहेको उनले बताए ।

भुटेको मकै, भटमास, मास, चना, केराउ, मस्याङ, जुनेलोलगायत नौ थरी अन्न फिँजाएर स्थानीयले पूजा गरेका हुन् । पर्वको विधिवत् पूजा गर्न पाका पुस्ता सक्रिय देखिन्थे । नयाँ पुस्ता पनि नौलो पर्व मनाउने विधि हेर्दै रमाइरहेका थिए । यो पर्वको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको अध्यक्ष श्रेष्ठले बताए । यसरी पूजा गरेर अन्न ग्रहण गर्दा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ ।

नयाँ अन्न उब्जनी भएपछि जूनमा सुकाएर खाने प्रचलन रहेको नेवाः देय दवुका अध्यक्ष देवी श्रेष्ठले उल्लेख गरे । ४० वर्षअघि सामूहिक रूपमा मनाउने यो पर्व लोपोन्मुख थियो । स्थानीयको सक्रियतामा २०७६ सालबाट पुनः सामूहिक रूपमा मनाउन थालिएको हो । कोरोना महामारीले दुई वर्ष भने घर–घरमा मात्र यो पर्व सीमित बनेको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *