पचास हजार मेट्रिक टन रासायनिक मल आयात गरिँदै

इन्भेष्टाेपेपर ।  मंसिर १८, २०७९

काठमाडौँ ।  कृषि सामग्री कम्पनी लिमिटेडले थप ५० हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टन ल्याउन लागेको हो । अबको केही दिनमै यससम्बन्धी सम्झौता गर्न लागिएको कम्पनीले जनाएको । मल आपूर्तिका लागि गरिएको ग्लोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनी छनोट भइसकेको छ ।

कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको जानकारी दिनुभयो । “एक/दुई दिनभित्रै सम्झौता गरेर प्रक्रिया अगाडि बढाइनेछ,” उहाँले भन्नुभयो ।

मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ । एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबाली (गहुँ, मकै, आलु, तरकारी)का लागि मल अभाव नहुने उहाँले जानकारी दिनुभयो । 

यो वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपियाँ बराबरको एक लाख ३० हजार मेट्रिक टन मल आयात गरिसकेको जनाएको छ । अहिले नियमित रूपमा मलको वितरण भइरहेकाले हिउँदेबालीका लागि अभाव नरहेको कम्पनीले जनाएको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मौज्दात रहेको जनाइएको छ । अहिले बिक्री नियमित रूपमा भइरहेको कम्पनीले जनाएको छ ।

जीटुजीको ३० मेट्रिक टन मल अर्को साता

मल आपूर्तिका लागि भारत र नेपाल सरकार–सरकारबीच (जीटुजी) भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल अर्को साता आउने भएको छ । उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ भारत पठाइसकेकाले अर्को सातासम्ममा मल आइपुग्ने कम्पनीले जनाएको हो । भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो ।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

मल खरिद गर्न मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपियाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पनि बढी परिमाण खरिद गरिने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल युरिया प्रतिमेट्रिक टन ७५० डलर र डीएपी प्रतिमेट्रिक टन ८५० डलर रहेको छ ।

मुलुकमा वार्षिक पाँच लाख २० हजार मेट्रिक टन मलको माग भए पनि मागअनुसार आयात नहुँदा बर्सेनि अभाव हुने गरेको छ । समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नुपरेको छ । धानबालीका लागि मात्र एक लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्क छ । धान, मकै, गहुँ, उखु, तरकारीलगायतका बालीमा रासायनिक मल प्रयोग हुने गर्छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *