सेयरबारे जानकारी लिन अर्थमन्त्री नेप्से कार्यालयमा

न्भेष्टाेपेपर । असाेज ३, २०८१

काठमाडौँ ।  सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय पुगेर त्यसबारे जानकारी लिनुभएको छ ।

अर्थमन्त्री पौडेलले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थ मन्त्रालयको ध्यान तानेको भन्दै सेयर बजारको अवस्थाका बारेमा बुधबार जानकारी लिनुभएको हो । पुँजी बजार कुन ट्रेन्डमा चलेको भनेर जिज्ञासा राख्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “राजनीतिका कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक÷दुई साता बजार ओरालो लागिरहेको छ । राजनीतिमा केही नहुँदा समेत बजार ओरालो किन लागि रहेको छ । यो प्रश्न सबै नियामक निकायमा उठेको छ ।”

पछिल्लो समय नेप्से परिसूचक र कारोबार खुम्चिरहेको बारे आफूले जवाफ नपाएसम्म नेप्से, सिडिएस धितोपत्र बोर्डलाई प्रश्न गरिरहने उहाँको भनाइ थियो । कुनैबेला ३० अर्बको कारोबार भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले अहिले पाँच अर्बमा पुगेकोमा जिज्ञासा राख्नुभएको थियो ।

स्थिर र बलियो सरकार, बैङ्क वित्तीय संस्थामा ब्याजदर निरन्तर घट्दा पनि तीन हजारको विन्दुमा पुगेको बजार निरन्तर घटिरहेको भन्दै उहाँले भन्नुभयो, यो प्रश्नको जवाफ खोज्न नेप्सेमा आएको हुँ । यी प्रश्नको जवाफ म आफैँसँग पनि खोज्छु । मेरा सचिवसँग खोज्छु र नेप्सेको व्यवस्थापनसँग समेत खोज्छु ।”

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजी बजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो ।

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिँदै पुँजी बजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि नेप्सेलाई निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुग्नुभएको थियो । 

परिसूचक र कारोबार दुवै ओरालो

अर्थमन्त्री पौडेल नेप्से पुगेको दिन सेयर बजारमापक नेप्से परिसूचक चार अङ्कले ओरालो लाग्दा कारोबार रकम पाँच अर्बमा सीमित भएको छ । निरन्तर सुधारिएर तीन हजारको विन्दुमा पुगेको सेयर बजार ओरालो लाग्ने क्रममा २५ सयको विन्दुमा आइपुगेको छ ।

बुधबार नेप्से ४.०० अङ्कले ओरालो लागेर २५७६.७६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अङ्कले ओरालो लागेर ४५९.९२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको चौथो दिनको नेप्से ०.१५ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०४ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार ३२० कम्पनीको एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ८० हजार ३७८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ७० करोड रुपियाँले कमी हो । बुधबार २० करोड ५८ लाख आठ हजार ५८४ रुपियाँ बराबरको सेयर कारोबार भएर सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैङ्किङ र निर्जीवन बिमाबाहेक बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *