चिनियाँ बैंकको शाखा खोल्ने व्यवस्थाकाे लागि राष्ट्र बैंकलाई अर्थको पत्र

Investopaper, मंसिर ०९, २०७६

काठमाडाैं । अर्थ मन्त्रालयले नेपालमा चिनियाँ वाणिज्य बैंकका शाखा खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ। चीनसँग भएको सहमति कार्यान्वयन गराउन अर्थले केन्द्रीय बैंकलाई आइतबार पत्राचार गरेको हो।

गत कात्तिक ७ मा नेपाल-चीनको तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को नवौं बैठकमा दुई पक्षबीच १२ बुंदे सहमति भएको थियो। त्यसमा एकआपसमा वाणिज्य बैंकका शाखा खोल्ने उल्लेख छ। चिनियाँ पक्षले गरेको प्रस्तावमा सहमति जनाउँदै नेपालले चिनियाँ वाणिज्य बैंक खोल्न अनुमति दिन बताएको थियो।

नेपाल पक्षले वैदेशिक बैंकलाई नेपालमा शाखा खोल्न दिने पर्याप्त व्यवस्था भएको जानकारीसमेत गराएको थियो। दुवै पक्षबीच केन्द्रीय बैंक तथा वाणिज्य बैंकका शाखा कार्यालय खोल्नेमा सहमति भएको थियो। नेपाल र तिब्बतको समय दुई घण्टा फरक पर्दा भन्सारमा काम गर्न असहज भएपछि एउटै समय तय गर्ने समझदारी भएको छ। नेपाल-तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को बैठकले नेपालको बिहानको ८ बजेको समय र तिब्बतको १० बजेको समयलाई एउटै मान्ने गरी समझदारी गरेको हो।

अक्टोबर २४ मा भएको समझदारीअनुसार तिब्बततर्फको भन्सार खुल्ने समय बेइजिङको १० बजे र नेपाली ८ बजेलाई एउटै रूपमा लिने सहमति भएको हो। नेपाल र तिब्बतको समय दुई घण्टाभन्दा बढी फरक रहेकाले यता भन्सार सुरु हुँदा तिब्बततर्फ खाजा खाने समय हुने र उता सुरु हुँदा यता खाजा खाने समय हुने कारण भन्सारमा समस्या देखिएपछि समयमा एकरूपता हुने गरी सम्झौता गरिएको हो।

झांग्मु तातोपानी भन्सार नाकाबाट आयात तथा निर्यात गर्दा दुवै देशका भन्सारबीच अनलाइन सफ्टवेयर सञ्जाल विकास गर्न नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो। तिब्बतले नेपालको अनुरोधलाई स्वीकार्दै यसलाई दुई देशको कूटनीतिक माध्यमबाट ल्याउन अनुरोध गरेको थियो। यो समाचार आजको अन्नपूण पोष्ट्मा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *