पठाओ चालक कारबाहीमाः मन्त्रालय र विभागकाे मत बाझियाे
Investopaper, मंसिर ०९, २०७६
काठमाडौं । महानगरीय ट्राफिक वृत्त स्वयम्भूले एक जना पठाओ चालकलाई कारबाही गरेको छ । ऐन विपरस्त निजी सवारीमा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरीले बा ७७ प ८१९९ नम्बरको पठाओमा आबद्ध मोटरसाइकललाई कारबाही गरेको हो ।
टुटल पठाओ सञ्चालनमा रोक लगाइएको छैन : मन्त्रालय, निजी सवारीमा यात्रु बोक्ने टुटल पठाओलाई कारबाही हुन्छ : विभाग
गतवर्ष माघ १ मा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चारओटा टुटल र पठाओ चालकलाई कारबाही गरेपछि निजी सवारीमा यात्रु बोक्ने टुटल र पठाओ विवादमा मुछिएका थिए । उक्त कारबाहीपछि सरकारको व्यापक आलोचना भएकोमा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओ सञ्चालनमा रोक नलगाउन निर्देशन दिएका थिए । गत आइतवार यातायात व्यवस्था विभागले निजी सवारीमा यात्रु नबोक्न निर्देशन दिँदै कारबाही गर्ने चेतावनी दिएको थियो । कारबाही गर्ने चेतावनीसँगै गतवर्ष चैतदेखि सेलाएको टुटल÷पठाओको विवाद पुनः तात्तिन पुगेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने सबैलाई कारबाही गरिरहेको बतायो । टुटल र पठाओलाई छुट्टै कारबाही अघि नबढाएको भन्दै पहिलेजस्तै नियम तोड्नेलाई ऐनअनुसार कारबाही गरिरहेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘नियम उल्लंघन गर्ने सबै सवारीलाई हामीले कारबाही गरिरहेका छौं, त्यस्तो कुनै सेवा छानेरै कारबाही गरिएको छैन,’ उनले भने ।
पठाओका क्षेत्रीय निर्देशक असीममानसिंह बस्नेतले आफूलाई रोक्न त्यस्तो कुनै पत्र वा फोन नआएको तथा मन्त्रालय र ट्राफिक महाशाखामा बुझ्दा कारबाही प्रक्रिया अघि नबढाएको बताए । ‘प्रधानमन्त्रीले नै नरोक्न निर्देशन दिएकाले मन्त्रालयले कारबाही गर्न नलगाएको बताएको छ, महाशाखाले पनि कारबाही गर्न त्यस्तो कुनै निर्देशन नदिएको जानकारी दिएको छ,’ उनले भने । उनका अनुसार असमझदारीका कारण एउटा पठाओ चालकलाई कारबाही भएको छ । पठाओले निलम्बन गरेको ट्याक्सी चालकसहित २०/२५ जना ट्याक्सी चालक मिलेर पठाओ राइडरलाई दुर्व्यवहार गरेको र पछि ट्राफिकले गल्ती पठाओ राइडरको सोचेर कारबाही गरिएको उनले बताए ।
यस्तै, टुटलका कार्यकारी निर्देशक शिक्षित भट्ट पनि कारबाहीबारे जानकारी नभएको र आफूलाई कुनै जानकारी पनि नगराएको बताउँछन् । ‘सेवा रोक्न त्यस्तो कुनै जानकारी गराइएको छैन,’ उनले भने । १ वर्षअघि जस्तै नियमै नबनाई पुनः पुरानै तरीकाले अघि बढ्न खोज्नुमा कुनै तुक नभएको उनले बताए ।
‘राज्यको कामै नियम बनाउने हो, नियम बनाउँछु भनेर नियमै नबनाएर पुनः त्यही संकुचनतिर फर्किनु राज्यको कमजोरी हो,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।