गजल : दशै आयो, तिहार आयो
-- हृदय लेकाली
दशै आयो, तिहार आयो नाङ्गो आङ ढाकिएन
सेल, पुरी, अनारसा, फिनी, बटुक चाखिएन।
मार्सी पाक्दा महलभित्र झुपडीले बास्ना लियो
मासुभात खाने मन् हुँदा लोर्के खसी काटिएन।
गाउँ शहर झिलीमिली तर मनै अँध्यारो भो
आँसुमाथि आँसु भयो सुक्खा बाती नै बाटिएन।
गिरिबन्धु खाए यिनै सिङ्गो देश नै टाट पारे
जनतालाई गरिखान केही कुरा राखिएन ।
आँसुपीडा बोक्नु पनि गणतन्त्र हो र हजुर ?
गतिला चिज सबै भ्याए केही पनि साँचिएन।