ग्लोबल आइएमई बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना
इन्भेष्टाेपेपर । फागुन २९, २०८२
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ ।
बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गर्नुभएको छ ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।
बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ ।
विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
विदेशमा रहेका ग्राहकहरुले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ ।
