जानी राखाै, च्याउ खानाले हाम्राे स्वास्थ्यमा कस्ता फाइदाहरू हुन्छन् ?

 Investopaper, पौष १६, २०७६

तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । च्याउकाे सेवनले विभिन्न रोगहरु लाग्न दिदैन भने राेग निवारण र निराकरणमा मद्दत गर्ने गर्दछ ।

त्यस्तै, च्याउको सेवनले विभिन्न रोग लाग्नबाट त बचाउँछ नै ज्यादै थोरै चिल्लो पदार्थ पाइने तथा प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।

त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्छ।

च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउने देखिएको छ ।

च्याउ यस्तो अचम्मको वनस्पति हो, जसमा भिटामिन डी पनि पाइन्छ । जसले शरीरका विभिन्न काममा फाइदा पुर्‍याउँछ । भिटामिन डीले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । तसर्थ हड्डीको समस्या भएका र वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाएमा धेरै लाभ लिन सक्छन् ।

च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।

च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र काेलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।

त्यसैगरी, यसमा पाइने ‘बिटा ग्लुकाेन’ नामक तत्वले रगतमा ग्लुकोजको (कोलेस्टेरोल) मात्रा कम गर्न मद्दत गर्ने अनुसन्धानहरुले देखाएका छन् । बिटा ग्लुकाेनले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्छ ।

यसका साथै च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि हुनेगर्छ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।

च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ पनि पाइन्छ । ढुसी प्रजातिमा पाइने फाइबर (बिटा ग्लुकान र काइटिन) ले भोक कम लगाउन मद्दत गर्छ ।

उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।

यसैगरी, च्याउमा भिटामिन बी पनि प्रसस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरका विभिन्न काममा मद्दत पुर्‍याएर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कुनै पनि एउटा खाने कुरा त्यसमा स्वास्थ्यका लागि के तत्व पाइन्छ भन्ने कुराले महत्वपूर्ण हुनेगर्छ । च्याउ त्यस्तै महत्वपूर्ण खानेकुराभित्र पर्दछ । दैनिक खानामा विभिन्न रङ्गीविरङ्गी फलफूल र तरकारीका साथमा कहिलेकाही रङहीन च्याउलाई पनि समावेश गर्नुपर्छ ।

तर, सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । ‘जंगली च्याउ खाएर मृत्यु’ भन्ने समाचार हामीले सुनिरहेकै हौं । तसर्थ, नचिनेका र जंगली च्याउका साटो खानयोग्य च्याउलाई आफ्नो भोजनमा समावेश गरेर धेरैभन्दा धेरै फाइदा लिऔं ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *