नेपाललाई बेलायत सरकारद्वारा स्वास्थ्य सामग्री प्रदान
इन्भेष्टोपेपर । जेष्ठ १४, २०७८
काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० ओटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावसले जानकारी दिएको छ ।
बिहीवार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ । गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० ओटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जानकारी दिएको छ ।
अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।
अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली संघ, विभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताउनु भयाे । (रासस)
