गाउँमै स्वास्थ्य सेवा : दुई वर्षभित्र सबै पालिकामा अस्पताल

इन्भेष्टोपेपर । फागुन ८, २०७८

काठमाडौँ ।  स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।

सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।

गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् । त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् ।

जसमध्ये डीपीआरको प्रक्रियामा ७३, डीपीआर तयार भई सुझाव दिएका ३६ र बजेट निकासा नै भएका पालिकाका ३१ रहेको उक्त मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, उक्त पालिका रहेको जिल्ला समन्वय समितिको सिफारिस, जग्गाको सुनिश्चितता, स्तरोन्नति गरी आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्यचौकीको हालको अवस्था र डीपीआरको पुनरावलोकन गराई निवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

कुल ७५३ वटा स्थानीय तहमध्ये ६५५ वटा पालिकाको आधारभूत अस्पतालको भवन निर्माण प्रक्रियामा छन् । ७५३ मध्ये ७७ जिल्लाका आ–आफ्नै जिल्ला अस्पताल छन् । यस आधारमा अब २१ वटा स्थानीय तहमा मात्र पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गर्नुपर्नेछ । २१ वटामध्ये पनि कतिपयका आफ्नै सामुदायिक अस्पताल रहेकाले आधारभूत अस्पताल निर्माणका लागि माग नगरिएको हुन सक्ने मन्त्रालयले जनाएको छ । सरकारले १५ शैयासम्मको आधारभूत अस्पताललाई १८ करोड छ लाख ८२ हजार, १० शैयाका लागि १० करोड ८३ लाख ३६ हजार र पाँच शैयाका लागि सात करोड ११ लाख ९८ हजार रुपियाँ प्रदान गरेको छ ।

सरकारले गत वर्ष ३९६ आधारभूत अस्पतालका लागि ५१ अर्बको स्रोत सुनिश्चित गरेको थियो । त्यस्तै, चालु आर्थिक वर्षका लागि २५९ शैयाका लागि भने ४९ अर्ब स्रोत सुनिश्चित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत वर्ष भने स्वास्थ्य मन्त्रालयले सम्बन्धित पालिकाको खातामा एकमुष्ट बजेट हालिदिए पनि यस वर्ष भने आधार अस्पतालको कामका आधारमा बजेट प्रदान गरेको छ । उपसचिव अधिकारीले स्रोत सुनिश्चित भएको हुँदा अबको दुई वर्षभित्र सबै पालिकामा आधारभूत अस्पतालको भवन निर्माण भइसक्नेगरी काम धमाधम अगाडि बढाइएको बताउनुभयो ।

रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुरले कार्कीले आगामी असार मसान्तभित्र पालिकाको आधारभूत अस्पतालको भवन निर्माण गरिसक्ने ठेकेदारसँगको सम्झौता भए पनि वैशाखको अन्तिमतिरै भवन निर्माण भइसक्नेगरी काम भइरहेको बताउनुभयो । अहिले निर्माण हुन लागेको पालिकाको अस्पताल १५ शैयाको रहेको र सो भवनमा एक तला थपिएपछि करिब ५० शøयाको अस्पताल निर्माण गर्न सकिने अवस्था रहेको कार्कीले जानकारी दिनुभयो । अस्पतालको भवन निर्माण गर्दा नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता, स्वास्थ्य पूर्वाधार विकास मापदण्ड, स्वास्थ्य भवन पूर्वाधार डिजाइन निर्देशिकाअनुसार निर्माण गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गर्दा प्राथमिक स्वास्थ्य केन्द्रको स्ट्यान्डर्ड डिजाइनअनुरूपको नयाँ भवन भए त्यसमा नभएका आकस्मिक सेवा, अपरेसन थिएटरलगायतका कक्ष निर्माण गर्नुपर्ने पालिकाको आधारभूत भवन निर्माण निर्देशिकामा उल्लेख गरिएको छ ।

हाल भएका स्वास्थ्यचौकीका भवनलाई नै आधारभूत अस्पतालका रूपमा निर्माण गर्दा उक्त भवन २०६३ भन्दा पछाडि सहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण भएको वा त्यसभन्दा अगाडि राष्ट्रिय भवनसंहिताअनुरूप भएको भए ती भवनलाई आवश्यकताअनुसार मर्मत–सम्भार गरी अस्पताल प्रयोजनका लागि कोठा परिमार्जन गर्न सकिने व्यवस्था छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *