आठौँ शताब्दीमा बनाइएको भीमकाय बुद्ध मूर्ति, ७० वर्षपछि बाढीले पाउ छाेयाे
इन्भेष्टोपेपर । भाद्र ०४, २०७७
सन् १९४० को दशकपछि आएको सबैभन्दा ठूलो बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा भीमकाय मूर्तिको पैतलासम्म पानी पुगेको छ।
उक्त मूर्ति ७१ मिटर अग्लो छ। सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ।
नदीमा पानीको सतह प्रायः मूर्तिभन्दा धेरै तल हुन्छ। तर अहिले उक्त क्षेत्रमा ७० वर्षकै सबैभन्दा नराम्रो बाढी आएको छ। उक्त क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सन् १९४९ मा बुद्धको विशाल मूर्तिको खुट्टाका औँलासम्म पानी पुगेको थियो। उक्त मूर्तिकाे प्रत्येक औँला एक जना मानिस जत्रा छन् । सिन्ह्वा समाचारसंस्थाका अनुसार बुद्धको पाउमा पानी पुग्दा चङ्दु डुबानमा पर्ने स्थानीय मान्यता छ।
बुद्धको मूर्ति पर्यटकीय आकर्षण बनेको छ। पर्यटक र श्रद्धालुहरू डुङ्गा चढेर मूर्ति भएको ठाउँसम्म जान्छन् । याङ्त्सी नदी र थ्री गोर्जेजमा उक्त क्षेत्र हुँदै डुङ्गायात्रा गराइन्छ।
— बीबीसीबाट
