डोल्पामा भारी हिमपातले जनजीवन कष्टकर

इन्भेष्टाेपेपर ।  मङ्सिर १, २०७७

डोल्पा — डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन् ।

माथिल्लो डोल्पास्थित शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको उहाँको भनाइ छ । बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् ।

चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाको भनाइ छ । माथिल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन् । त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ । भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ । वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर बिष्टले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *